• १ जेठ २०८१, मङ्गलबार

महोत्तरीको ग्रामीण भेगमा जङ्गली हात्तीको उपद्रो

हात्ती धपाएका स्थानीयलाई सर्पले पनि डस्यो

blog

महोत्तरीको गौशाला नगरपालिका वडा नं १० बटौवामा मंगलवार मध्य राति प्रवेश गरेका हात्तीले भत्काएका घर । तस्वीर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, भदौ २२ गते । जङ्गली हात्तीकाे एक जोडीले गौशाला नगरपालिका १० बटौवाका दुई घरमा क्षति गर्नुका साथै बालीनाली सखाप पारेको छ । हात्ती धपाउने क्रममा स्थानीय कामेश्वर यादवलाई सर्पले डसेपछि अर्को समस्या खडा भएको थियो । उहाँलाई राति नै बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको वडाध्यक्ष विष्णुकुमार महतोले जनाउनुभयो । 


स्थानीयका अनुसार मङ्गलबार साँझतिर लक्ष्मिनियाको जङ्गलमा देखापरेका हात्तीले रातको समय बस्ती प्रवेश गरी पहिले पूजन महतो र त्यसपछि छिमेकी जयवीर महतोको घर भत्काएकाे थियो । भित्र प्रवेश गरेका हात्तीले अन्नपातसमेत खानुकाे साथै भुइँभर छरेर नष्ट पारेको पीडितले जनाएका छन् । 

महिला तथा बालबालिकालाई राति नै सुरक्षितस्थलतर्फ पठाइएको वडाध्यक्ष महतोले जनाउनुभयो । जतिसुकै गर्दा पनि हात्तीले गाउँ छाड्ने मनसाय नदेखाएपछि स्थानीयले प्रहरी गुहारेका थिए ।


कान्तिबजार प्रहरी पोष्टका असई शम्भु सिंहका अनुसार टर्च र दर्जन जति मोटरसाइकलको लाइट बालेपछि हात्ती पश्चिमतर्फ लागेका थिए । अहिले ती जोडी सागरनाथ वनविकास परियोजनाको जङ्गल हुँदै सर्लाहीतर्फ लागेको अनुमान गरिएको छ ।

गाउँले र प्रहरीको लामो प्रयासपछि बुधबार बिहान ३ बजेतिर पश्चिम लागेका हात्तीले बाटो छेउछाउका बालीनालीमा क्षति पु¥याएको छ । गाउँलेका अनुसार रामजतन महतोको ३ कट्ठाको धानबालीका साथै रामनारायण सहनीको २ कट्ठाको उखु खाई उखेलेर क्षति पु¥याएको छ । 

अघिल्लो रात सोही हात्तीका जोडीले बर्दिबास नपा-२ हङकङडाँडा र वडा नं ८ स्थित लोपचन टोल तथा भवसी टोलका नाै घरमा क्षति पुराएका थिए । प्रत्यक्षदर्शीका अनुसार बर्दिबासबाट निस्केका ती हात्ती मडाहा खोलाको बाटो हुँदै टौवा प्रवेश गरेका थिए ।