• २१ असार २०८१, शुक्रबार

पाल्पामा रातो च्याउकाे व्यावसायिक उत्पादन

blog

उद्योगमा उत्पादन गरिएको रातो च्याउ । तस्बिर – रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौ २२ गते । पाल्पामा पहिलो पटक रातो च्याउ (गानोडोर्मा) को व्यवसायिक उत्पादन तथा विक्री सुरु भएको छ । भैरव च्याउ उद्योग प्रालिले रातो च्याउको उत्पादन गरी विक्री सुरु गरेको हो ।

पाल्पाका २० जना युवा मिलेर पहिलो पटक गानोडोर्माको व्यावसायिक उत्पादन सुरु गरेको प्रालिका अध्यक्ष केशव कार्कीले बताउनुभयो ।

जिल्लाभित्र र बाहिरका गरी २० जना युवा मिलेर स्वास्थ्यका लागि बहुउपयोगी मानिने गानोडोर्मा च्याउ उत्पादनपछि प्रशोधन गरेर बजारमा विक्री सुरु गरिएको उहाँले बताउनुभयो । 

रातो च्याउ उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि चार करोड रुपियाँ लगानी गरिएको कार्कीले जानकारी दिनुभयो । हाल च्याउबाट पाउडर, सुकुटी, झोल, मम, ससेज, कफी तथा चियाको उत्पादन गरिएको छ ।

मानव स्वास्थ्यका लागि उपयोगी र गुणयुक्त मानिने रातो च्याउबाट दैनिक ५० किलो पाउडर, सुकुटी तथा अन्य वस्तु विक्री गरिएको उद्योगले जनाएको छ । 


नेपाल सरकारबाट स्वीकृति लिएर वनमा फालिएका कुकाठ तथा स्याउलाबाट अर्ग्यानिक रातो च्याउ उत्पादन गरिएको उद्योगका सञ्चालकको भनाइ छ ।

उत्पादित च्याउलाई प्रशोधनपछि मात्रै विविधीकरण गरेर बजारमा विक्री सुरु गरिएको प्रालिका सञ्चालक रितेश विष्टले बताउनुभयो ।

‘हाल रातो च्याउलाई विविधीकरण गरेर विक्री गरिएको छ, उहाँले भन्नुभयो भावी दिनमा उत्पादन बढाएर विदेशमा समेत विभिन्न खाद्यवस्तुमा प्रयोग गर्न सकिने गरी निर्यात गर्ने लक्ष्य छ ।’ 

रातो च्याउको बजार मूल्य अहिले प्रतिकिलो १२/१५ हजारसम्म रहेको उद्योगका सञ्चालकले जनाएका छन् । उद्योगले भने अहिले प्रतिकिलो दश हजारमा रातो च्याउबाट बनेका झोल, सुप पाउडर, सुकुटी विक्री गरिरहेको उद्योगका अर्का सञ्चालक दिनेश पराजुलीले जानकारी दिनुभयो । 

केही वर्षअघिसम्म सिताके च्याउनको उत्पादन गरिरहेको उद्योगले पछिल्लो एक वर्षयता रातो च्याउ उत्पादन गर्नेतर्फ लागेको हो । ‘हाल कम्पनीबाट सिताके च्याउ पनि उत्पादन भइरहेको छ पराजुलीले भन्नुभयो रातो च्याउ पनि उत्पादन भइरहेको छ ।’

रातो च्याउको उत्पादन तथा भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) पाल्पाको तीन लाख ४८ हजार रुपियाँ र कृषि ज्ञान केन्द्र, पाल्पाले चार लाखभन्दा  बढी सहयोग गरेको उहाँले बताउनुभयो ।