• ११ जेठ २०८१, शुक्रबार

डेङ्गु परीक्षणमा मनपरी शुल्क

blog

काठमाडौँ, भदौ २१ गते ।  डेङ्गुको प्रकोप व्यापक बन्दै जाँदा त्यसको परीक्षण शुल्कको मारमा बिरामी परेका छन्। सरकारी तथा निजी प्रयोगशालामा दुवैमा डेङ्गु परीक्षणको शुल्कमा मनोमानी पाइएको छ। सरकारी र निजीमा गरी यस्तो शुल्क पाँच सयदेखि दुई हजार चार सय रुपियाँसम्म रहेको छ।

सबैभन्दा सस्तो मानिने सरकारी प्रयोगशालाले पनि बढी शुल्क लिने गरेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेङ्गु परीक्षणको शुल्क आठ सय रुपियाँ लिने गरेको छ। वीर अस्पताल र सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पाँच सय रुपियाँ लिन्छन्। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गुणस्तरका आधारमा बढी शुल्क लिएको दाबी गरेको छ। प्रयोगशालाका निर्देशक डा. रुना झाले पहिलेदेखि नै आठ सय रुपियाँ लिने गरेको भन्दै महँगो वा सस्तोभन्दा पनि गुणस्तर हेरिनुपर्ने दाबी गर्नुभयो। डा. झाले भन्नुभयो, “हामीकहाँ डेङ्गु परीक्षण गर्ने किट गुणस्तर र महँगो हुने भएकाले बढी शुल्क लिएका हौँ।” 

प्रयोगशालाकै एक कर्मचारी भने डेङ्गु परीक्षण चार सय रुपियाँमै गर्न सकिने बताउनुहुन्छ। “चार सय रुपियाँमा गर्दा पनि प्रयोगशालालाई घाटा हुँदैन,” नाम उल्लेख नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आठ सय शुल्क लिनु धेरै महँगो हो।” एउटै प्राङ्गणभित्र टेकु अस्पतालमा भने पाँच सय लिने गरेको छ। टेकु अस्पतालभन्दा पनि सस्तो होला भनेर आउने सेवाग्राही जनस्वास्थ्य प्रयोगशालाबाट ठगिएका छन्। कतिपय सरकारी अस्पतालले आफूखुसी डेङ्गु परीक्षण गर्दा दोहोरो शुल्क लिने गरेका छन्। टेकु र वीरमा पाँच सय शुल्क तोकिए पनि त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, भक्तपुर अस्पतालले छुट्टाछुट्टै शुल्क लिन्छन्। बानेश्वरस्थित निजामती अस्पतालले डेङ्गु परीक्षण शुल्क आठ सय रुपियाँ लिने गरेको अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले बताउनुभयो। 

त्रिवि शिक्षण अस्पतालमा भने डेङ्गु परीक्षणको फरक–फरक शुल्क लाग्ने गरेको छ। अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार शिक्षण अस्पतालमा सामान्य ओपीडीमार्फत आउने सेवाग्राहीलाई डेङ्गु परीक्षणको शुल्क ९६० लिने गरेको छ।  प्राइभेट क्लिनिक (चार बजेपछि आउने बिरामी)का हकमा एक हजार दुई सय लिने गरेको उहाँले जानकारी दिनुभयो। 

भक्तपुर अस्पतालले पनि दुई किसिमको शुल्क लिने गरेको छ। भक्तपुर अस्पतालले आकस्मिक बिरामीको हकमा ७५० र ओपीडीमा आउने बिरामीको शुल्क छ सय रुपियाँ लिने गरेको छ।  निजी प्रयोगशालातर्फ भने ल्याबले एक हजार दुई सय, क्रिस्टल डाइग्नोस्टिक सेन्टरले एक हजार आठ सय, भरोसा अस्पतालले दुई हजार चार सय, डिकोडले एक हजार पाँच सय र नर्भिक अस्पतालले एक हजार दुई सय रुपियाँ लिने गरेका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले डेङ्गु परीक्षणमा फरक–फरक शुल्क लिने गरेको मौखिक जानकारी मन्त्रालयलाई आएको बताउनुभयो। उहाँले लिखित रूपमा कुनै व्यक्तिले पनि उजुरी नदिएको बातउनुभयो। डा. ठाकुरले सरकारी अस्पतालका प्रमुख तथा निजी अस्पतालका प्रमुखलाई बोलाएर कतिसम्म शुल्क लिँदा उपयुक्त हुन्छ भनी मङ्गलबार छलफल गरिने जानकारी दिनुभयो। 

उहाँले सरकारले डेङ्गु परीक्षण सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गरिने पनि बताउनुभयो। हामी विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसँग पनि छलफल गर्छौँ। डा. ठाकुरले भन्नुभयो, “सरोकारवाला निकायको सरसल्लाहका आधारमा शुल्क तोकिनेछ।”   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।