• २१ असार २०८१, शुक्रबार

पूर्वाधार मन्त्री राईद्वारा एकै दिन बाँकेमा चार पुलको शिलान्यास

blog

पुल निर्माणको शिलान्यास गर्दै मन्त्री राई । तस्विर – सिराज खान । नेपालग

सिराज खान 

नेपालगञ्ज, भदौ २० गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बाँकेमा एकै दिन चारवटा पक्की पुल निर्माणको शिलान्यास गर्नु भएको छ । 

मन्त्री राईले सोमबार बाँकेको डुडुवा गाउँपालिकाको डुडुवा नदीमा चार वटा स्थानमा पक्की पुल निर्माणका लागि शिलान्यास गर्नुभएको हो । 

उहाँले टपरीदेखि चौफेरी जोड्ने ९० मिटर, नौरीगौडीदेखि कैरातीपर्वा जोड्ने ५० मिटर, राजारामपुरवादेखि हल्कारापुर्वा जोड्ने ४५ मिटर र डुडुवा ४ मोल्हुपुरवा अमराहवादेखि लडिहाघाट जोड्ने ४५ मिटर लामो पुल निर्माणको शिलान्यास गर्नुभयो । 


डुडुवा १ मा आयोजित शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले जनतालाई आवागमनमा सहजता प्रदान गर्न सरकारले सडक र पुलको निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

सानो समयमा पनि सरकारले देशका विभिन्न स्थानमा सयौँ पुल र सडकका योजनाहरू सुरु गरेको प्रष्ट पार्दै उहाँले केही वर्षमा ती योजना पूरा हुँदा हजारौँ जनताले सुविधा पाउने बताउनुभयो । 

उहाँले डिजाइन एण्ड बिल्ड प्रक्रियाबाट पुल निर्माण गर्न टेण्डर आह्वान गरिसकेको जनाउँदै पुलसम्बन्धी सबै काम एकै कम्पनीले गर्ने बताउनुभयो । 

केही दिनदेखि गृह जिल्लाको भ्रमणमा रहनुभएका मन्त्री राईले विभिन्न कार्यक्रममा सहभागी भएर सोमबार काठमाडौँ फर्कनुभएको छ ।