• २२ असार २०८१, शनिबार

सन्देशमूलक लोकदोहोरीमा रमाएका केसी

blog

लोकगायक सन्तोष केसी नेपाली गीत/सङ्गीतमा धेरै नै क्रियाशील हुनुहुन्छ। उहाँले २०६० सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गर्नुभएको हो। २०६४ सालमा उहाँले गाउनुभएको ‘तम्घासमाथि रेसुङ्गाको वन’ सर्वाधिक चलेको गीत थियो। केसीले आधुनिक गीतमा सङ्गीत लेख्ने काम पनि गर्नुभयो। उहाँका करिब  चार सयवटा गीत बजारमा आइसकेका छन्। केसीसँग गीत/सङ्गीतका विषयमा आधारित भएर गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानीको सार : 

करिब चार सयवटा जति गीतमा काम गरिसक्नुभयो, मिडियामा त्यति नआउनुको कारण के हो ?

म युट्युबका अन्तर्वार्तामा त्यति देखिन नरुचाउने भए पनि मलाई टीभीका अन्तर्वार्तामा भने धेरै नै रुचि छ। विभिन्न पत्रपत्रिकामा मैले अवार्ड जित्दा मेरा समाचार आइरहेका हुन्छन्। गीत/सङ्गीतमा लागिरहँदा भाइरल भन्दा पनि म सदाबहार हिसाबले गीत/सङ्गीतमा लागिपरेको छु। त्यो हिसाबले पनि म मिडियामा अलि कम देखिएको हो।

यो क्षेत्रमा तपाईंको कसरी प्रवेश भयो ?

मैले २०५९ सालमा एसएलसी पास गरेँ। रेडियो नेपालमा स्वर परीक्षा खुलेको छ भन्ने एउटा सूचना आयो। त्यसपछि काठमाडौँ आइयो र स्वर परीक्षा दिने निर्णय गरियो। हामी ११ सय जनाले रेडियो नेपालमा स्वर परीक्षा दिएका थियौँ। त्योमध्ये ६१ जना पास भए र त्यसमा म पनि परेँ। त्यसरी मैले नेपाली गीत/सङ्गीतमा पाइला टेकेको हुँ।

तपाईंको पहिलो गीत कुन थियो ?

मेरो पहिलो गीत ‘नाका थुनेको’ भन्ने थियो। त्यतिबेला देशमा द्वन्द्व चलिरहेको थियो र त्यही विषयलाई लिएर मैले गीत निकालेको थिएँ। 

पहिलो गीत बजारमा आउँदा कस्तो अनुभूति हुँदोरहेछ ?

पहिलो गीत निकाल्दा खुसीको सीमा कति थियो त्यो भनेरै कम हुन्छ तर त्यतिबेला त्यो गीत बजाउन निषेध गरिएको थियो। टीभीमा त्यो गीत बजाउन दिइएको थिएन। सरकार र माओवादीबीचको द्वन्द्वको गीत थियो। त्यो हिसाबले मिडियामा अलिकति गीत बज्न नपाएपछि म खुसी सँगसँगै निराश पनि थिएँ।

तपाईंका गीत कस्ता खालका हुन्छन् ?

मेरा प्रायः सामाजिक सन्देशमूलक गीत लोकदोहोरीमा हुन्छन्। म विकृति फैलिने गीत गाउँदिनँ। सुगम सङ्गीतमा मायाप्रेमका गीत बढी सिर्जना गरेको छु। 

तपाईंका चलेका दुई/चारवटा गीतका नाम बताउनुहोस् न।मेरो लोकदोहोरीमा ‘तम्घासमाथि रेसुङ्गाको वन’ ‘भट्टीकी साहुनी’ तीजको गीत ‘आमा’ ‘सौता’, पञ्चेबाजा गीत ‘सालीभेना’, ‘गुल्मेली हुँकारा’ ‘छोरी’ 

आधुनिक गीत ‘आफ्नो भन्नु कसलाई यहाँ,’ ‘अन्त माया लगाएको भए’, ‘हेर्दा कहाँ देखिन्छ र’, ‘छुट्यौ भने रुनु पर्ला’ लगायत दर्जनौँ आधुनिक गीतमा शब्द सङ्गीत गरेको छु।

तपाईं गायक, सङ्गीतकार र लेखकमध्ये आफूलाई के भन्न रुचाउनुहुन्छ ?

पहिला म गायक बन्छु भनेर गुल्मीबाट काठमाडौँ आएको हो। पछिल्लो समय मेरो परिचय गीतकार, सङ्गीतकारको हिसाबले बजारमा बढी छ। सँगसँगै म लोकगायक पनि हो। 

गीत/सङ्गीतको बजारमा तपाईं आफूलाई कत्तिको प्रतिस्पर्धी ठान्नुहुन्छ ?

मेरो कसैसँग प्रतिस्पर्धा छैन। मेरा गीतले गरेको व्यापार नै मेरो ठूलो उपलब्धि हो। सीआरबीटी, पीआरबीटीमा मेरा गीत राम्रो चलिरहेका हुन्छन्। २०६६ सालदेखि एनसेल, नेपाल टेलिकमको  रोयल्टीबाट उठेको सर्वाधिक गीतकार, सङ्गीतकार र निर्माताको हिसाबले विभिन्न सङ्घ–संस्थाबाट रोयल्टी बुझिरहेको छु। 

अहिले गीत/सङ्गीतको बजार कस्तो देख्नुहुन्छ ?

गीत/सङ्गीतको बजार राम्रो छ। हामी नेपाली गीत/सङ्गीतबाट नै बाँचिरहेका छौँ। म सामान्य परिवारको मान्छे अहिले यसैबाट मेरो उन्नति प्रगति भइरहेको छ। मैले मेरा यति धेरै गीत बजारमा ल्याएँ। मेरा गीत यसरी श्रोताले मन पराउनु होला भन्ने सोचेको थिइनँ। कहिलेकतै एक्लै हिँड्दा मैले गीत/सङ्गीतबाटै यति धेरै कमाएँ भन्ने पनि लाग्छ तर नेपाली गीत÷सङ्गीतमा हेर्दा धेरै सङ्घर्ष गरेका कलाकार चाँहि बाँचेका छन्। 

आजकल के गर्दै हुनुहुन्छ ?

विगत दुई दशकदेखि नेपाली गीत/सङ्गीतमा क्रियाशील छु। भर्खरै तीजको गीत ‘छोरी’ र ‘सासू बुहारीको कलह’ बजारमा ल्याएँ। दुवै गीत सामाजिक परिवेशमा आधारित छ। यी दुई गीतपछि म अब आधुनिक र लोकदोहोरी गीतको तयारीमा छु।