• १३ साउन २०८१, आइतबार

रुपन्देहीको ग्रामीण क्षेत्रमा १५ शैयाको अस्पताल बन्दै

blog

लक्ष्मण पौडेल

भैरहवा, भदौ १९ गते । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ दयानगर छपियामा १५ शैयाको अस्पताल निर्माण गर्न शिलान्यास गरिएको छ । छपिया स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै १५ शैयाको अस्पताल निर्माण गर्न लागिएको हो । 

गृहमन्त्री बालकृष्ण खाणले शिलान्यास गरेसँगै अस्पताल निर्माण हुने निश्चित भएको हो । २१ करोड ८० लाख ५० हजार रुपियाँ लागतमा राखेर बोलपत्र आह्वान गरिएकोमा १८ करोड एक लाख सात हजार रुपियाँमा निर्माण गर्ने गरी सम्झौता गरिएको छ । 

२०७९ असार ८ गते सम्झौता भएको अस्पतालको निर्माण २०८१ कात्तिक ७ गते भित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनुभयो । 

अस्पतालमा १०औँ तहका डाक्टर (मेडिकल सुपरिटेण्डेन्ट) को नेतृत्वमा मेडिकल अधिकृतसहित डाक्टर र नर्ससहितको टिम रहने गाउँपालिकाले जनाएको छ । अस्पताल निर्माण भएपछि सियारीबासीले चिकित्सकीय सेवा, आकस्मिक, ओपिडी, फार्मेसी, ल्याब, रेडियोलोजीलगायतका सुविधा प्राप्त गर्ने छन् ।