• १० मंसिर २०८१, सोमबार

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस

प्राकृतिक कुचिकारकाे रूपमा मानिएका गिद्ध नेपालमा बढ्दै

blog

काठमाडौं, भदौ १८ गते । अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस यस वर्ष नेपालको ३३ जिल्लामा मनाइँदैछ । नेपाल पंक्षी संरक्षण संघको अगुवाइमा १४ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस भदौ १६ गतेदेखि २२ गतेसम्म एक सप्ताहव्यापी रुपमा मनाइँदैछ ।

प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध दिवस मनाइने गरिन्छ । गिद्ध लोप हुन लागेको र संरक्षणको प्रयासबारे जनचेतना जगाउन यो दिवस मनाइन्छ । दक्षिण अफ्रिकामा सन् २००५ देखि मनाइँदै आएको दिवस विकसित भएर सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो । 

गिद्धको जीवनचक्र लोभलाग्दो 

गिद्धको जीवनचक्र लोभलाग्दो हुन्छ । यो शान्त स्वभावको पंक्षी हो । जसलाई प्रकृतिको कुचिकार भनिन्छ । गिद्धको चर्तिकला, आकाशमा कावा खाँदै उडिरहेका बथान र पर्यावरणीय महत्वलाई हेर्ने हो भने, त्यस्तो हुँदैन । गिद्ध हेर्दा, हिंस्रक, फोहोरी घिनलाग्दो देखिए पनि यो सिनो खाने चरा हो ।


यो शिकारी चरा भए पनि आफैँ शिकार नगरी मरेका जनावरका मासु (सिनो) खान्छ । गिद्धले सिनो खाएर वातावरण प्रदूषित, दूर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने भएकाले प्रकृतिको कुचिकार भनिएको हो । गिद्ध पर्यावरणीय चक्र सन्तुलन र गतिशील बनाउन मद्दत गर्छ ।

यो संवाहकका साथै पारिस्थितिकीय स्वस्थताको सूचक हो । विश्वकै दुर्लभ गिद्ध नेपालमा विश्वमा संकटापन्न, दुर्लभ गिद्ध नेपालमा पाइन्छ र यो गौरवको विषय हो । नेपाललाई गिद्धका लागि विश्वकै पहिलो सुरक्षित क्षेत्र घोषणा गरिएको छ ।


गिद्ध सुरक्षित क्षेत्र भनेर गिद्धको वासस्थानसहित त्यस आसपासको चरन र विचरण गर्ने क्षेत्रलाई मानिन्छ । खतरामा परेका गिद्धका लागि सुरक्षित क्षेत्रको वैज्ञानिक अवधारणा नेपालबाट सुरु भएकाले विश्वमै दुर्लभ डंगर गिद्ध र सानो खैरो गिद्ध नेपालमा पाइन्छन् ।

गिद्धको घना बास स्थान भएका चितवन, पश्चिम तराई र मध्य पहाडी जिल्लामा संरक्षणका कार्यक्रमको थालनी सन् २००९ बाट गरिएकाले समुदाय, पशु चिकित्सक, किसान र स्थानीयको सहयोगमा डाइक्लोफेनेक औषधि प्रतिबन्ध गरिएको छ । जसले गिद्ध संरक्षणमा सहयोग गरेको छ ।

गिद्धको प्रजनन् केन्द्र नेपाल पंक्षी सघं, प्राकृतिक संरक्षण कोष, चिनारीको प्राविधिक पक्ष र दातृ निकायको सहयोगमा सञ्चालित गिद्ध प्रजनन् केन्द्र चितवनको कसरामा स्थापित छ । दुर्लभ भएको गिद्धलाई सुरक्षा गर्न २०६५ सालमा गिद्ध प्रजनन् केन्द्रको स्थापना गरिएको हो । 

विश्वमा जटायु रेस्टुरेण्ट पहिलो

नवलपरासीको पीठौलीमा लोपोन्मुख अवस्थामा पुगेका गिद्ध बचाउनका लागि पहिलो पटक सन् २००६ मा स्थानीय समुदायद्वारा विश्वकै पहिलो ‘जटायु रेष्टुरेण्ट’ स्थापना गरिएको हो । लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाट रेष्टुरेण्टको सञ्चालन र व्यवस्थापन गरिएको छ ।

गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक जस्ता औषधिको प्रयोगका कारण गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका थिए । पछिल्लो समय गाईवस्तु पाल्ने क्रम घटेसँगै विगतमा जस्तै फालिने क्रम घटेको छ । आहारा कम हुँदा गिद्धलाई बाँच्न समस्या भएको थियो ।


अर्कोतिर, डाइक्लोफेनेकको प्रयोग गरी उपचार गराइएका पशुको मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर हुने र केही दिनमा नै गिद्धको मृत्यु हुने गरेको थियो । औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ सालदेखि उत्पादन, प्रयोग र विक्रीवितरणमा प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समय गिद्धको संरक्षणका लागि नवलपरासीसँगै रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजनौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको रामधुनीलगायत स्थानमा रेष्टुरेण्ट स्थापना गरिएको छ ।

गिद्ध एक ठाउँमा बस्ने पंक्षी नभएकाले अहिले यी रेष्टुरेण्टको प्रभावकारिता घटेको छ । गिद्धमा तेज दृष्टि र उड्ने शक्ति बढी भएकाले पहाडबाट सिधै तराईमा आहाराका लागि पुग्छ । यो घाना जंगलमा नभएर मानव बस्ती नजिक खुल्ला आकाश र अग्ला ठूला कर्म र सिमललगायतको रुखमा बस्न मन पराउँछ । 

गिद्धको प्रजाति र सङ्ख्या 

विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातिका पाइन्छन् । नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डंगर, सुन, सानो खैरो, हिमाली, हाडफोर र सेतो गिद्ध यहाँका रैथाने गिद्ध हुन् ।


लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा अन्य गिद्ध देशबाट नेपाल आउँछन् । नेपालमा पाइने हिमाली गिद्धको सङ्ख्या करिब दश हजार, डंगर र सेतो गिद्धको संख्या दुई हजारसहित करिब १५ हजारको हाराहारीमा छ । 

गिद्ध लोप हुने कारण 

बढ्दो बस्ती विकासको क्रमसँगै गिद्धका प्रजाति लोप हुने अवस्थामा पुगेको छ । गिद्धको बासस्थान विशेष गरी अग्लो सिमलको रुख हो । गिद्ध सिमलका रुखमा बस्ने तथा गुँड लगाउने गर्छन् । पछिल्लो समय बस्ती तथा फाँटमा रहेका सिमलका रुख काटिँदा गिद्धलाई समस्या परेर अन्यत्र सरेकाले पनि लोप भएको छ । 

संरक्षणमा चुनौती

गिद्ध संरक्षणको सबैभन्दा ठूलो चुनौती जनचेतनाको कमी हो । गिद्धको बारेमा जनचेतना फैलाउनु आवश्यक छ । पछिल्लो समय गिद्धको अर्को चुनौती पनि थपिएको छ । त्यो विद्युत हो । नेपालमा विद्युतको उत्पादन बढेसँगै ठुल्ठूला ट्रान्समिटर राखिएका छन् ।

यसरी उड्ने क्रममा गिद्धको गति तेज हुन्छ । गति बढी भएकाले एक ठाउँबाट बचे पनि अर्को ठाउँमा ठोक्किन पुग्छ । यसले गिद्धको मृत्यु हुने गरेको देखिएको छ । यसको लागि नीतिनिर्माताले सोच्नुपर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस र गिद्धकाे विषयमा चराविद् डा‍‍‍. हेमसागर बरालसँग गोरखापत्र अनलाइनका लागि दीपा चौधरी, मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको भिडियो कुराकानी :


Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।