• १३ साउन २०८१, आइतबार

वर्षाले सडक अवरुद्ध

blog

लीलाधर वली 

घोराही, भदौ १८ गते । अविरल वर्षका कारण दाङ जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा सवारी आवागमनमा समस्या भएको छ । घोराही उपमहानगरपालिका–१९, घोराही–सैघा सडक पहिरोका कारण अवरुद्ध भएको छ । खोलाले समेत सडक कटान गरेपछि सवारी आवागमन अवरुद्ध छ । घोराही उपमहानगरपालिका–१९ का अध्यक्ष ज्ञानबहादुर रायमाझीले सैघाको विभिन्न गाउँ जोड्ने कच्ची सडकमा पहिरो खसेसँगै खोलाले कटान गरेपछि हिँड्नसमेत समस्या भएको बताउनुभयो । 

यहाँका गाउँमा भर्र्खरै सडक पुग्न थालेको हो । वडाध्यक्ष रायमाझीले भन्नुभयो, “तर केही दिन परेको पानीका कारण पहिरो गएसँगै खोलाले सडक कटान गर्दा अवरुद्ध हुन पुगेको छ ।” तुलसीपुरको गहतेखोलाले पनि सडक कटान गरेको छ । तुलसीपुर–बाघमारे हँुदै घट्टेखोला जोड्ने सडकखण्डअन्तर्गत गहतेखोलाले सडक कटान गर्दा सवारीसाधन चल्न सक्ने अवस्था छैन । स्थानीय गङ्गाराम न्यौपानेले सडक कटान रोक्नका लागि स्थानीय सरकारले चासो नदिँदा स्थानीयवासीले दुःख पाउनुपर्ने अवस्था आएको बताउनुभयो । सडक कटान नियन्त्रणका लागि समयमै व्यवस्थापन गरेको भए केही भाग बच्न सक्ने भनाइ उहाँको छ । 

वर्षाकै कारण नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विभिन्न बस्तीलाई जोड्ने सडक असारदेखि बन्द छन् । कोइलाबास नाकाबाहेक अन्य नाकाका स्थानीयवासीलाई नियमित कामका लागि पनि भारतको बाटो भएर पालिका कार्यालय आउनुपर्ने बाध्यता छ । राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले भौगोलिक अवस्थाका कारण नाकाका बस्ती जोड्ने सडक कच्ची भएकाले यो समस्या आएको बताउनुभयो ।