सन्तोष दहित
दाङ, चैत २७ गते । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुपरस्पेसियालिटी सेवा विस्तार गरेसँगै लुम्बिनी प्रदेशका दाङ, रोल्पा, रुकुम, सल्यान र प्यूठानका सयौं बिरामी लाभान्वित हुने भएका छन्।
प्रतिष्ठानले हाल न्युरोसर्जरी, युरोसर्जरी र कार्डियोलोजी सेवा सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानको तथ्याङ्क अनुसार गत वैशाख १ देखि चैत २१ गतेसम्म युरोलोजी विभागबाट पाँच हजार ७४ र न्युरोसर्जरीबाट चार हजार २४४ बिरामीले सेवा लिएका छन्। सोही अवधिमा न्युरोसर्जरीतर्फ २०३ र युरोलोजीतर्फ ६४९ वटा शल्यक्रिया सम्पन्न भएका छन्।
कार्डियोलोजी (मुटु रोग) तर्फ ४३९ जनाले ओपिडी सेवा लिएका छन्। सेवालाई प्रभावकारी बनाउन प्रतिष्ठानले वीर अस्पताल र शिक्षण अस्पताल (टिचिङ) लगायतका संस्थासँग सहकार्य समेत सुरु गरेको छ। सेवा विस्तार भए पनि भौतिक पूर्वाधारको अभाव भने अझै चुनौतीपूर्ण छ।
पर्याप्त भवन नहुँदा एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम अस्थायी संरचना र भाडाका घरमा सञ्चालन भइरहेका छन्। प्रस्तावित ४०० शय्याको अस्पताल निर्माणको गुरुयोजना हाल अर्थ मन्त्रालयमा सिफारिसको क्रममा रहेको निमित्त उपकुलपति प्रा. श्याम लम्सालले जानकारी दिनुभयो । हाल प्रतिष्ठानमा दैनिक करिब एक हजार बिरामी उपचारका लागि आउने गरेका छन् ।