• १२ पुस २०८१, शुक्रबार

कैलालीमा ३८० भन्दा बढी घर डुबानमा

blog

बसन्ता र भजनीको मोहनपुरमा भएको डुबान । तस्बिर सौजन्य – विकास रत्गैया / गंगा चौधरी

अविनाश चौधरी

धनगढी, भदौ १७ गते । कैलालीमा ३८० भन्दा बढी घर डुबानमा परेका छन् । गएराति भएको वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले डुबान भएको हो । सबैभन्दा बढी भजनी नगरपालिकामा डुबान भएको छ ।

काँढा, पथरैया, मोहना नदीको बाढी घरमा पसेर सो पालिकामा ३२७ जति घर डुबानमा परेको भजनी नगरपालिकाका विपद् स्रोत व्यक्ति खिम पनाडीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ८ मा मात्रै करिब २०० घर डुबानमा परेको छ । त्यस्तै, वडा नम्बर २ मा एक सयभन्दा बढी घर र वडा नम्बर ३ मा केही घर डुबानमा परेको छ । 

घरहरूमा पानी पसेर खाद्यान्न, अन्न भिजेको जनाइएको छ । यसैगरी, कटैनी नदीको बाढी पसेर कैलारी गाउँपालिका –७ को बड्का बसन्ता, छटकपुर बसन्ता र भुईयाँफाँटा गरी ५० भन्दा बढी घर डुबानमा परेको वडा अध्यक्ष दीपेन्द्र बमले जानकारी दिनुभयो ।