• १९ असार २०८१, बुधबार

पुलको सूचनाले झस्काउँछ

blog

दिवाकर पोख्रेल

देउखुरी, भदौ १७ गते । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङ राप्ती नदीको पुल जीर्ण अवस्था छ। इलाका प्रहरी कार्यालय भालुवाङले नै बोर्ड राखेर ‘पुल जीर्ण रहेको’ सूचना दिएको छ। 

जीर्ण पुल, त्यससँगै प्रहरीको सूचना बोर्डले सवारीचालक र यात्रु सबैलाई झस्काउने गर्छ। पुल जीर्ण छ, विस्तारै हिँड्न अनुरोधसहितको बोर्ड राख्दा पनि मर्मतका लागि सम्बद्ध निकायको ध्यान पुगेको छैन। त्यस्तै लमही कोइलावास हुलाकी सडक खण्डको राप्ती नदीको पुलको अवस्था पनि यस्तै छ। यो सडक फराकिलो बनाए पनि पुलमा दोहोरो सवारीसाधन आवतजावत हुन सक्दैन। जीर्ण अवस्थामा रहेका यी पुलमा आवतजावत गर्दा दुर्घटनाको खतरा बढ्दै गइरहेको छ। कहिलेकाहीँ ठूला गाडी सँगसँगै (दोहोरो) पार गर्न नसक्दा लामो समयसम्म जाम पनि हुने गरेको छ। 

लमही कोइलाबास सडकखण्डमा सवारी चलाउँदै आउनुभएका स्थानीय चालक दिलबहादुर चौधरीका अनुसार पुलमाथिको कालोपत्रे उप्केर खाल्डा परेका छन्। दाङ क्षेत्रमा राप्ती नदीमा तीनवटा ठूला पुन नयाँ निर्माण भइसकेका छन् तर पुराना पुलहरूको अवस्था दयनीय छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियार पुलको अवस्था जीर्ण छ भनेर लेखिएको बोर्डले चालकलाई सचेत र जिम्मेवार बनाउन सहयोग गरेको बताउनुहुन्छ।