• २१ असार २०८१, शुक्रबार

अस्कर कमिटीले माग्यो नेपाली चलचित्र

blog

काठमाडौँ, भदौ १७ गते । ९५औँ संस्करणको ‘एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड)’मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुला गरेको छ। समितिले बिहीबार विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले भदौ १६ गतेदेखि भदौ ३० गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ।

द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले सन् २०२३ मार्च १२ तारिख आइतबार अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा ९५औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) प्रदान गरिने जनाएको छ। हरेक वर्ष फेब्रुअरीमा हुँदै आएको ‘अस्कर अवार्ड’ कोरोना महामारीका कारण गत वर्ष दुई महिना पछाडि धकेलिएको थियो। यो वर्ष भने एक महिना मात्र पर सरेको छ अर्थात फेब्रुअरीमा हुँदै आएको अवार्ड मार्चमा हुनेछ।

अघिल्लो वर्षमा झैँ यो वर्ष पनि चलचित्र हलसँगै स्ट्रिमिङ साइटमा रिलिज भएका चलचित्रले अवार्डमा सहभागिता जनाउन सक्नेछन्। योसँगै महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका चलचित्रले पनि अस्करमा सहभागिता जनाउन पाउनेछन्। 

यसका लागि सम्बन्धित चलचित्रले सरकारबाट मान्यता प्राप्त सिनेमाहलबाट चलचित्र रिलिज रोकिएको पत्र बुझाउनुपर्नेछ। त्योसँगै यसरी रोकिएका फिल्म सिनेमाहलमा नलागी स्थापित स्ट्रिमिङ साइट वा भिडियो अन डिमान्डमा आएका छन् भने तिनले पनि सहभागिता जनाउन सक्ने भएका छन्।

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ। जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुविक्रम थापा, चिरञ्जीवी गुरागाईं र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन्। समितिले अक्टोबर ३ भित्रमा नेपालको प्रतिनिधित्व गर्ने एउटा नेपाली चलचित्र छनोट गरेर पठाउनेछ।