• २२ असार २०८१, शनिबार

डेङ्गु सङ्क्रमण रोक्न औषधि छर्नेका दुईथरी कुरा

blog

काठमाडौँ, भदौ १७ गते । काठमाडौँ महानगरपालिकाले डेङ्गुलगायतका सङ्क्रमण रोक्न सुरु गरेको औषधि छर्ने कार्यमा समन्वय देखिएको छैन। केही समययता विभिन्न सङ्क्रमण बढेसँगै बिहीबारदेखि कीटनाशक औषधि छर्ने कार्य सुरु गरिए पनि महानगरपालिकाका विभिन्न निकायबीच समन्वय नदेखिएको हो।

महानगरका प्रमुख बालेन्द्र शाहको सचिवालयले स्थानीयवासीको मागअनुसार महानगरका विभिन्न स्थानमा कीटनाशक औषधि छर्ने कार्य सुरु भएको बताएको छ भने महानगरको स्वास्थ्य विभागले सो कार्यप्रति अनभिज्ञता प्रकट गरेको छ।

सचिवालय सदस्य सुनील लम्सालले महानगरपालिकाको विभिन्न ठाउँमा कीटनाशक औषधि छर्ने कार्य सुरु भएको बताउनुभयो। उहाँले भन्नुभयो, “महानगरको विभिन्न स्थानका बासिन्दाले आग्रह गरिरहनुभएको छ। त्यही आधारमा औषधि छर्ने काम सुरु गरेका हौँ।” महानगरले बिहीबार काठमाडौँको न्यु प्लाजामा कीटनाशक औषधि छरेको छ। 

महानगरको स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले भृकुटीमण्डपबाहेक अरू कुनै पनि क्षेत्रमा औषधि छर्न विभागले अनुमति नदिएको तथा सहमति नरहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “औषधि छर्ने काम सुरु भएको छ भन्ने सुनेको छु तर कुन ठाउँमा कसको निर्देशनमा सो कार्य सुरु गरिएको हो भन्ने मलाई थाहा छैन।” उहाँले जथाभावी औषधि छर्दा मानिसमा श्वासप्रश्वासमा समस्या आउन सक्ने बताउनुभयो।

यसअघि नै विभागले जथाभावी कीटनाशक औषधि छर्नुहुँदैन भने सूचना जारी गरिसकेको थियो। महानगरको वातावरण विभागमा कार्यरत ध्रुव सापकोटाले महानगरको प्रत्येक वडामा कीटनाशक औषधि पठाइएको र वडाहरूले आवश्यकताअनुसार छर्ने काम गरिरहेको बताउनुभयो।