• २६ वैशाख २०८१, बुधबार

हटाइँदै ‘डिजिटल होर्डिङ बोर्ड’

blog

काठमाडौँ, भदौ १७ गते । काठमाडौँ महानगरपालिकाले सहरका मुख्य ठाउँमा अव्यवस्थित रूपमा राखिएका डिजिटल होर्डिङ बोर्डबाट विज्ञापन प्रसारण बन्द गराउन थालेको छ । वस्तु तथा सेवाको प्रचार गर्ने नाममा सहरका संवेदनशील स्थानमा समेत आफूखुसी डिजिटल होर्डिङ बोर्ड राख्न थालेपछि महानगरले यस्तो अभियान थालेको हो । महानगरपालिकाले बिहीबार त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टर तथा कोटेश्वर चोकमा राखिएका बोर्ड बन्द गराएको छ । अन्य ठाउँमा राखिएका बोर्ड पनि बन्द गराइने र यसका लागि आवश्यक अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले भन्नुभयो, “त्रिपुरेश्वरमा राखिएको बोर्डले भवनको झ्याल छोपिएको तथा उक्त बोर्डले सडकमा फालेको प्रकाशको मात्रासमेत अत्यधिक भएकाले हटाइएको हो ।” 

महानगरपालिकाको राजस्व विभागका अनुसार महानगरभित्र अनुमति लिएर राखिएका होर्डिङ बोर्डको सङ्ख्या ४० छ तर अनुमति लिए पनि कतिपयले मापदण्डविपरीत बोर्ड राखेका छन् । मापदण्डविपरीतका बोर्डलाई मात्र हटाइएको नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो । 

अचेल कालीमाटी, टेकु, कलङ्की, नयाँसडक, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, माइतीघर, थापाथली, बानेश्वर, कोटेश्वर, बौद्ध, लगनखेल, भक्तपुरलगायत थुप्रै स्थानमा ठूूला डिजिटल बोर्ड राखिएका छन् । 

काठमाडौँ महानगरपालिकाले होर्डिङ बोर्डको अवधारणा हटाएपछि व्यापारीले त्यसको विकल्पका रूपमा डिजिटल बोर्डको सुरुवात गरेका थिए तर सहरलाई उज्यालो र रङ्गिन बनाउने नाममा व्यापारीले यसलाई आफ्नो स्वार्थपूर्तिको माध्यम बनाइरहेका छन् । यसअघि महानगरपालिकाले २०७५ सालमा वस्तु तथा सेवाको प्रचारप्रसार गर्ने उद्देश्यले राखिएका होर्डिङ बोर्ड हटाउने निर्णय गरेको थियो । त्यतिखेर होर्डिङ बोर्डको सट्टा निश्चित मापदण्ड बनाएर डिजिटल होर्डिङ बोर्ड राख्न दिने निर्णय गरेको थियो तर डिजिटल होर्डिङ बोर्डका लागि मापदण्ड नबनेपछि होर्डिङ बोर्डकै लागि बनाइएको मापदण्डअनुसार डिजिटल होर्डिङ बोर्ड राख्ने अनुमति दिइएको महानगरपालिकाको राजस्व विभागका सहायक निर्देशक प्रदीप कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजस्व विभागले डिजिटल होर्डिङ बोर्डको मापदण्ड निर्धारण तथा स्थान चयनको विषयमा नीतिगत व्यवस्था गर्नुपर्ने प्रस्ताव महानगरपालिकामा पठाइसकेको छ तर उक्त प्रस्ताव हाल महानगरपालिकाको विधायन समितिमा अड्केको छ । नगर प्रहरी प्रमुख पाण्डेले पनि महानगरपालिकाबाट नयाँ विज्ञापन नीति बनिरहेको जानकारी दिनुभयो । 

अहिले डिजिटल होर्डिङ बोर्डको मापदण्ड स्थानीय तहअनुसार फरक–फरक छ । सबै स्थानीय तहलाई समेट्ने गरी विज्ञापन बोर्डले एकै प्रकारको मापदण्ड बनाउने तयारी गरेको छ । बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले भन्नुभयो, “डिजिटल होर्डिङ बोर्डको सम्बन्धमा अहिलेको विज्ञापन नियमावलीमा केही पनि समेटिएको छैन ।”   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।