• १६ चैत २०८०, शुक्रबार

गोरखापत्र आरोपमुक्त

blog

काठमाडौँ, भदौ १६ गते । ७६ वर्षअघि अर्थात् २००३ सालको एसएलसी परीक्षा सर्नुका बारेमा गोरखापत्रमाथि लगाइएको आरोप गलत प्रमाणित भएको छ। तत्कालीन शिक्षा डाइरेक्टरका छोरा बिरामी हुँदा परीक्षा सार्नु परेको तर आरोपचाहिँ गोरखापत्रले खेप्नु परेको थियो। 

विराटनगरस्थित जुद्ध पब्लिक स्कुल (हालको आदर्श माध्यमिक विद्यालय)ले त्यस बेला शिक्षाका डाइरेक्टर जनरललाई पत्र लेखी आफूहरूका कारण परीक्षा सरेको भन्दै गोरखापत्रले गलत समाचार छापेको र त्यसका लागि गोरखापत्रविरुद्ध आवश्यक कारबाही गर्न माग गरेको थियो। सो पत्र त्रिचन्द्र क्याम्पसमा सुरक्षित रहेको फेला पारिएको छ। २००३ साल पुस १७ गतेको गोरखापत्रमा परीक्षा नियन्त्रकले परीक्षा सरेको जनाउ दिँदै विज्ञापन छापेको पाइएको छ। विद्यालयका तत्कालीन प्रधानाध्यापकले प्रकाशित सामग्री विज्ञापन हो वा समाचार हो भन्ने खुट्याउन नसक्दा गोरखापत्रमाथि आरोप लगाएको बुझिन्छ। तत्कालीन परीक्षा नियन्त्रण कार्यालयले जुद्ध पब्लिक स्कुलका विद्यार्थी परीक्षा केन्द्र कायम गरिएको वीरगञ्ज केन्द्रमा समयमा पुग्न नसक्दा परीक्षा सार्नु परेको जनाउ दिएको थियो भने स्कुलले शिक्षा डाइरेक्टरलाई पत्र लेखी आफ्ना विद्यार्थी समयमै पुगेको तर्क गर्दै पत्र लेखेको थियो। शिक्षाका इतिहासकार स्वर्गीय गोपीनाथ शर्माले पनि २००३ सालमै एसएलसी परीक्षामा सम्मिलित भएको र शिक्षा डाइरेक्टरका छोरा बिरामी भएकाले परीक्षा सारिएको कुरा आफ्नो पुस्तकमा लेख्नुभएको छ।

विद्यालयका तत्कालीन प्रधानाध्यापकले प्रकाशित सामग्री विज्ञापन हो वा समाचार हो भन्ने खुट्याउन नसक्दा गोरखापत्रमाथि आरोप लगाएको बुझिन्छ । 

इतिहासकार शिव ढकालले विराटनगर स्कुलले लेखेको पत्र आफूले त्रिचन्द्र क्याम्पसमा फेला पारेको बताउनुभयो। २००३ सालको परीक्षा सात दिनका लागि सारिएको थियो। गोरखापत्रमा खरदार हरमणि आदी कन्ट्रोलर अफ एक्जामिनेसन्सका नामबाट जाँच स-यो शीर्षकमा विज्ञापन छापिएको थियो। 

विज्ञापनमा नयाँ परीक्षा तालिकासहित लेखिएको थियो, “विराटनगर श्री जुद्ध पब्लिक स्कुलका छात्रहरू भोलि पौष १७ गतेदेखि खुल्ने यस.यल.सी. २००३ (१९४७) को परीक्षामा हाजिर नभएको बेहोरा वीरगन्ज सेन्टरका सुपरिटेन्डेन्टद्वारा जाहेर भएकोले श्री डाइरेक्टर जनरल साहेबबाट एक हप्तापछि अर्थात् पौष २४ गते बुधबारदेखि तल लेखियाबमोजिम जाँच लिने गरिबक्सेकोले सूचना गरेको छ।” 

स्कुलका हेडमास्टरका नामबाट २००३ साल फागुन १० गते स्कुलले डाइरेक्टर जनरललाई पत्र पठाएको देखिन्छ। अङ्ग्रेजी भाषामा लेखिएको सो पत्रमा गोरखापत्रले छापेको समाचारबारे आफूले स्पष्ट पार्न चाहेको बेहोराबाट पत्र लेखनको सुरुवात गरिएको देखिन्छ। 

२००३ साल पुस ११ गते आफ्ना विद्यार्थी वीरगञ्जतर्फ प्रस्थान गरेको र पुस १२ गते वीरगञ्ज पुगेको पत्रमा उल्लेख छ। त्यो बेला परीक्षा केन्द्रमा प्रधानाध्यापक वा निजले तोकेका शिक्षक अनिवार्य उपस्थित भई आफ्ना विद्यार्थी चिनाइदिनुपर्ने नियम थियो। सोही प्रयोजनका लागि सो स्कुलले सहायक शिक्षक श्रीकृष्ण चौधरी बीएलाई पठाएको थियो। 

निज चौधरीले आफूहरूलाई परीक्षा सरेको जानकारी दिएको तर परीक्षा सर्नुको कारणबारे अनभिज्ञता व्यक्त गरेको कुरा सोही पत्रमा उल्लेख छ । हेडमास्टरले आफूले पुस ९ गते परीक्षा नियन्त्रकलाई फोनमा सम्पर्क गरेको र आफ्ना विद्यार्थीलाई काठमाडौँ परीक्षा केन्द्र वा वीरगञ्जमा पठाउन आफूले सोधेको तर फोनको गडबडीले स्पष्ट नसुने पनि आफूलाई वीरगञ्ज लैजान भनिएको बेहोरा पत्रमा खुलाइएको पाइन्छ। 

आफू बिरामी भएको र त्यसपछि स्कुल बिदा भएकाले आफूले ढिला गरी पत्र लेखेको भन्दै हेडमास्टरले आफ्ना विद्यार्थीविरुद्ध गोरखापत्रले लेखेको गलत समाचारबारे जानकारी दिन चाहेको भनेका छन्। उनले गोरखापत्रका रिपोर्टरले गलत समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै कारबाहीको माग गरेको पत्रमा उल्लेख छ।