• ९ वैशाख २०८३, बुधबार

दुई दिने बिदाले पोखरा पर्यटनमा चहलपहल

blog

तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख ९ गते । सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिबार र आइतबारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन्। यस निर्णयले आन्तरिक पर्यटनलाई गति दिनुका साथै सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशा सञ्चार गरेको व्यवसायीहरूको भनाइ छ। उनीहरूले यसलाई ‘होलिडे प्याकेज’ का रूपमा विकास गरी ओझेलमा परेका गन्तव्यहरूको प्रवर्धन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

पर्यटन व्यवसायीहरूका अनुसार यो निर्णयले कर्मचारी वर्ग मात्र होइन, समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्नेछ। नेपालीहरूमा भ्रमण संस्कृतिको विकास गर्न र आन्तरिक पर्यटनको सम्भावना उजागर गर्न यो निर्णय कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यका अनुसार, “यो निर्णय आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण कदम हो। हप्तामा दुई दिन बिदा हुँदा मानिसहरूलाई घुमघामका लागि समय मिल्छ, जसले पर्यटन क्षेत्रलाई चलायमान बनाउँछ।” उहाँले कर्मचारीहरूलाई योजनाबद्ध रूपमा भ्रमणमा प्रोत्साहित गर्न ‘भ्रमण प्याकेज’ अवधारणा ल्याउनुपर्ने पनि बताउनुभयो।

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की सचिव तथा होटल लेक क्वीनकी सञ्चालक शान्ता सुवेदी तिमिल्सिनाले नयाँ वर्ष र बिदाको प्रभावले पोखरामा आन्तरिक पर्यटकको उल्लेख्य वृद्धि भएको बताउनुभयो। “दुई दिने बिदाले पर्यटन क्षेत्रमा ऊर्जा थपेको छ, पोखरा अहिले आन्तरिक पर्यटकले भरिभराउ भएको छ,” उहाँले भन्नुभयो।

महासचिव शोभा अधिकारी पौडेलका अनुसार, पोखरासहित लेखनाथ र आसपासका क्षेत्रहरूमा समेत पर्यटकको चहलपहल बढेको छ, जसले स्थानीय आर्थिक गतिविधिलाई सक्रिय बनाएको छ।

हाल फेवाताल, बेगनासताल र सराङकोटजस्ता प्रमुख पर्यटकीय स्थलहरूमा पर्यटकको उपस्थिति बाक्लो देखिएको छ। यसले होटल, रेस्टुरेन्ट तथा ग्रामीण पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ।

होटल संघ पोखराका कोषाध्यक्ष नेत्र पौडेलले पनि दुई दिने बिदा पर्यटन क्षेत्रका लागि स्वागतयोग्य भएको बताउँदै यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार लगातार दुई दिन बिदा हुँदा परिवारसहित भ्रमण गर्ने प्रवृत्ति बढ्नेछ।

पर्यटन व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएको भन्दै यो निर्णयले कोभिडपछिको पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरेका छन्।