• ७ जेठ २०८१, सोमबार

मिथिला क्षेत्रमा चौरचन र तीज पर्व मनाइयो

blog

चौरचन पर्व मनाइदै । तस्बिर : माला कर्ण

माला कर्ण

कल्याणपुर, भदौ १४ गते । सप्तरीसहित मिथिला क्षेत्रमा मंगलबार चौरचन पर्व मनाएका छन् भने तीज पर्व हिन्दु नारीले मनाएका  छन्।  

नम : सिंह प्रसेनमवधी : हिंसोजाम्बवता हत :

सुकुमारक मारोदी तब व्येष स्यमंतक : 

यही मन्त्रका साथ मङ्गलवार साँझ व्रतालुहरूले आ(आफ्ना घरको आँगन तथा कौसीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर चौरचन पर्व मनाएका छन् । विशेष गरी तराईका जिल्लाहरूमा चौरचन पर्व हर्षोल्लासपूर्वक परिवारका साथ मनाइएको छ । भगवान् गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास रहिआएको कल्याणपुरकी लक्ष्मी देवी कर्णले बताउनुभयो ।

भाद्र शुक्ल चतुर्दशीको साँझ मनाइने यस पर्वमा गणेश पुजनोत्सवको आयोजना समेत गर्ने गरिन्छ । चन्द्रमामा कलङ्क लागेको धार्मिक मान्यताका साथ मिथिला क्षेत्रमा मिथिला नरेश ज्योतिष शास्त्रका ख्यातिप्राप्त ज्ञाता हेमाङ्गद ठाकुरद्वारा यस पर्वको सुरुवात गरिएको भनाइ छ । व्रतालुले दिनभर निराहार रही साँझमा नुहाई पिठोले बनाएको अपरिनमा वैदिक मन्त्रोच्चारणका बीच विभिन्न देवता–पितृको पूजा गरेर अन्तमा रोहिणीसहित चौठीचानलाई पुष्पाञ्जली दिएका छन् । त्यसपछि माटोको भाँडामा जमाएको दही र निक्कै सावधानीपूर्वक बनाइएको चामल र गहुँको पिठोका विभिन्न पकवानसहित खीर, मिठाई, फलफूल लगायतका नैवेद्यसहित साँझ चन्द्रमालाई अर्घ दिएर पूरा गरिएको छ । दिनभर उपवास बसेकाले साँझ अर्घ दिएपछि सम्पूर्ण परिवारजनले प्रसाद ग्रहण गर्दा कल्याण एवं धनधान्यको प्राप्ति हुने विश्वास रहेको छ ।

चन्द्रमाको पूजा गर्दा धनधान्यको प्राप्ति, पुत्र लाभ र प्रसन्नता मिल्ने गरेको चौठचन्द्रको कथामा उल्लेख छ । प्रसाद ग्रहणका लागि आफन्तजन, इष्टमित्र लगायतलाई पनि बोलाइने गरिएको हुँदा यस पर्वलाई सद्भावको प्रतीकको रूपमा पनि लिइन्छ ।

भगवान् कृष्णलाई द्वापर युगमा लोभमा पारेर साथीको हत्या गरेको भन्ने झुटो आरोप लाग्दा नारद ऋषिले कृष्णलाई भाद्र शुक्ल चतुर्दशीको व्रत बस्न सल्लाह दिएको र सो अनुसार व्रत बस्दा मिथ्या कलङ्कबाट मुक्ति प्राप्त गरेको चौठचन्द्रको कथामा उल्लेख रहेको पाइन्छ । 

विभिन्न कार्यक्रम गरेर तीज मनाइयो

हरितालिका तीज मङ्गलवार हिन्दु महिलाले भव्य रूपमा मनाएका छन् । तीजलाई सांस्कृतिक पर्वको रुपा पनि मानिन्छ । यस पर्वमा महिला नाचगान गरेर रमाइलो गरेको मनाएका छन्।

तीजको अवसरमा मूल समारोह समितिले राजविराजका विभिन्न शिव मन्दिरमा तीज कार्यक्रम आयोजना गरेको हो । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व र चौरचन एकै दिन यस वर्ष परेको छ । 

तीज पर्वको अवसरमा महादेवको मन्दिरमा महिलाको भीड देखिएको छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। 

सप्तरीका महिला अधिकारकर्मीले राजविराजस्थित जिल्ला कारागार भित्रका महिला कैदी बन्दीलाई सोमबार सामूहिक रूपमा दर खुवाएर तीज मनाएका छन् । तीज महोत्सव मूल समारोह समिति सप्तरीका पदाधिकारी र अधिकारकर्मीसँगै कारागारका कैदी बन्दी महिलाले दर खाएर तीज मनाएका हुन् ।

गत वर्ष झैँ कारागार पुगेको तीज महोत्सव मूल समारोह समितिका पदाधिकारीले कैदी बन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टीकालगायतको शृङ्गारका सामान दिएर तीजको खुसी साटासाट गरेको कारागार प्रशासनले जनाएको छ। 


राजविराज कारागारभित्र रहेका महिला कैदी बन्दीलाई सोमबार सामूहिक रूपमा तीजको दर स्वरूप मिठाई, चुरा, पोते, टिकालगायत प्रदान गर्दै अधिकारकर्मी। तस्बिर  : माला कर्ण