विजयकुमार साह
ढल्केबर, असार २० गते । धनुषाको मिथिला नगरपालिकाले स्थानीय किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गर्न निःशुल्क मौरीको घार वितरण गरेको छ । शुक्रबार नगरपालिकाले नगरभित्रका सात जना किसानलाई ४१ थान घार वितरण गरेको हो ।
नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जयकुमार महतोले नगरभित्रका किसान आधुनिक मोरीको घार वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार वितरण गरिएको घारमध्ये २१ थान मोरी गोलसहित र २० थान खाली घार रहेका छन् । किसानलाई मौरीपालनप्रति आकर्षित गर्दै आर्थिक रूपमा सबल बनाउने उद्देश्यले मौरीको घार वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले किसानलाई मौरी बाकस, सुरक्षा पोसाक, घार व्यवस्थापन सामग्रीलगायत मौरीपालनमा आवश्यक पर्ने उपकरण पनि प्रदान गरिने बताउँदै मौरीपालनमा रुचि राख्ने अन्य किसानलाई पनि आवश्यक सामग्री सहयोग गरिने बताउनुभयो ।
नगरपालिकाले यसअघि मह उत्पादनमा संलग्न गराउन १० जना किसानलाई मौरीपालन सम्बन्धी पाँच दिने तालिम प्रदान गरेको थियो ।