• ७ जेठ २०८१, सोमबार

कर्मचारी बस दुर्घटनामा १५ घाइते

blog

दुर्घटनामा घाइते हुनेको दमौलीमा उपचार हुँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ भदौ १३ गते । तनहुँमा बस दुर्घटना हुँदा १५ जना कर्मचारी घाइते भएका छन् । पृथ्वीराज मार्गमा पर्ने दमौलीबाट पोखरा जाँदै गरेको ग १ ख ४०२३ नम्बरका कर्मचारी बोकेको बस सोमबार साँझ ६ बजे तनहुँको म्याग्दे गाउँपालिका –१ गुणादीमा दुर्घटना हुँदा सो सङ्ख्यामा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिनुभयो  ।

दुर्घटनामा स्याङजाको  चापकोट –२ घर भई हाल कास्कीको पोखरा महानगरपालिका‍ -७ बस्ने जिल्ला प्रशासनमा खरिदारमा कार्यरत २६ वर्षीय विवश आचार्य, शुक्लागण्डकी ६ बस्ने नेपाल टेलिकम तनहुँका चालक ३८ वर्षीय पवन कुमाल, सोही ठाउँ बस्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ३७ वर्षीय हरिता श्रेष्ठ सख्त घाइते हुनु भएको छ । 

यसैगरी, सख्त घाइते हुनेहरुमा  भिमाद नगरपालिका -२ बस्ने जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी २५ वर्षीय रुपा थापा, पोखरा महानगरपालिका -५ बस्ने जिल्ला प्रशासन कार्यालय तनहुँका खरिदार ३९ वर्षीय प्रेमकुमारी थापा, म्याग्दे गाउँपालिका -२ बस्ने ५८ वर्षीय अर्जुनसिंह घर्ती, पोखरा महानगरपालिका ३३ बस्ने ५५ वर्षीय जगन्नाथ आचार्य रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घाइतेको दमौलीस्थित रत्नहरी अस्पताल र गम्भीर घाइते हुनेहरुलाई थप उपचारका लागि पोखरा लगिएको छ । तनहुँमा कार्यरत कर्मचारीहरु चढेको उक्त बस ५ बजे मात्रै दमौलीबाट पोखरा गएको थियो । 

तीव्र गतिमा गुडेको  बस ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको प्रहरीको अनुमान छ  । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।