अविनाश चौधरी
धनगढी, चैत २७ गते । कैलालीको धनगढी उपमहानगरपालिका–५, शिवनगरमा रहेको चैतन्य पाठशालाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका एक हजार विद्यार्थीलाई निःशुल्क रूपमा क्षमता विकास तालिम दिने भएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सो विद्यालयले चैतन्य क्षमता विकास अभियान सञ्चालन गरेर एक हजार विद्यार्थीलाई क्षमता विकास तालिम दिने भएको हो ।
विद्यार्थीको व्यक्तित्व विकास, सिप अभिवृद्धि तथा भविष्य उन्मूख क्षमता विकासमा टेवा पुर्याउने उद्देश्यले निःशुल्क क्षमता विकास तालिम दिन लागेको विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न छ वटा विधामा क्षमता विकास तालिम प्रदान गरिने छ । अभियान अन्तर्गत व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्व कला, प्रस्तुतीकरण तथा नेतृत्व विकास, योग तथा ध्यानमार्फत मानसिक सन्तुलन सम्बन्धी तालिम प्रदान गरिने पत्रकार सम्मेलन गरी जनाइएको छ ।
यस्तै, अंग्रेजी भाषा (सम्प्रेषण र लेखन), सूचना तथा सञ्चार प्रविधि अन्तर्गत कम्प्युटर, ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, भिडियो इडिटिङ तथा प्रोग्रामिङ, साथै आथित्यता र खेलकुद सम्बन्धी प्रशिक्षण दिइने जनाइएको छ ।
“एसईई दिएर एक महिनाको अवधिसम्म खाली बसेका विद्यार्थीका क्षमता अभिवृद्धिका लागि हामीले यो अभियान सञ्चालन गर्न गइरहेका छौं”, अध्यक्ष जोशीले भन्नुभयो,“यसले उनीहरूको क्षमता विकास, नेतृत्व विकासमा सहयोग पुर्याउने छ ।”
क्षमता विकास तालिम वैशाख ६ गतेबाट सञ्चालन गर्ने जनाइएको छ । चैतन्यले शिक्षा र संस्कारको संगम, पूर्वीय र पश्चिमी दर्शन, प्रकृति र संस्कृतिको सम्मान गरी तीन क्षेत्रलाई फोकस गरेर काम गर्दै आएको बताउनुभयो ।