• २१ वैशाख २०८१, शुक्रबार

बाढीले विद्यार्थी छेकेपछि खोलावारि नै परीक्षा सञ्चालन

blog

विद्यार्थीलाई खोलामा आएको बाढीले छेकेपछि प्रश्नपत्र, उत्तरपुस्तिका, परीक्षामा खटिएका कर्मचारीलाई खोला पार गराउँदै सशस्त्र प्रहरीबलको उद्धार टोली । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, भदौ ११ गते । कपिलवस्तुको शुद्धोधन जनजीवन माध्यमिक विद्यालयका ३४ जना विद्यार्थी शनिबार बिहानै परीक्षा दिन घरबाट विद्यालय निस्किए । एसईई स्तरवृद्धिको परीक्षा दिन २० किलोमिटर टाढा रहेको जनता मावि पीपरामा केन्द्र तोकिएको थियो । राति परेकाे वर्षाका कारण कोइली खोलामा आएको बाढीले विद्यार्थीलाई विद्यालय पुग्न समस्या भयो ।   

सशस्त्र प्रहरीले प्रश्नपत्र र उत्तरपुस्तिका डुङ्गाको सहायताले खोला पार गरेपछि विद्यार्थीले खोलावारि नै परीक्षा दिए । निर्धारित समयभन्दा डेढ घण्टा ढिलो गरी विद्यार्थीले परीक्षा दिएका थिए । विद्यार्थी रोकिएको खोला नजिकै रहेको कपिलधामको सभा हलमा परीक्षा सञ्चालन गरिएको थियो । उर्लदो बाढीले छेके पनि केन्द्र सारेर भए पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको थियो । 

विद्यार्थी परीक्षा दिन बञ्चित हुने देखिएपछि बाणगंगा नगर प्रमुख चक्रपाणी अर्याल, जिल्ला शिक्षा समन्वय इकाई कपिलवस्तुका कर्मचारी, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिमबहादुर जिसी खोला पुग्नुभएको थियो । बाढीले विद्यार्थी छेकेको सूचना पाएपछि सशस्त्र प्रहरी बेस क्याम्प पीपराबाट उद्धार टोली खटाइएको सशस्त्र प्रहरी बल २८ नम्बर गणका प्रमुख सूर्यबहादुर सेनले बताउनुभयो । 

डुङ्गाको प्रयोग गरी परीक्षामा खटिएका केन्द्राध्यक्ष, कर्मचारी प्रहरी गरी १५ जनालाई खोला पार गरिएको सेनले बताउनुभयो । विद्यार्थीलाई उद्धार गर्नुभन्दा परीक्षा सञ्चालन गर्ने टिमलाई उद्धार गर्न सहज भएपछि परीक्षा केन्द्र सारिएको थियो । शिक्षा शाखा प्रमुख जिसीको नेतृत्वमा टोली परिचालन गरी परीक्षा सञ्चालन गरिएको सेनले बताउनुभयो ।  


बाणगंगा नगरपालिका-९ को सिङ्गो वडा कोइली खोलाको समस्यामा छ । बर्खा लागेपछि कोइली खोला भलवाडबासीको तगारो बन्दैआएको छ । यहाँ पक्की पुल नहुँदा बर्षेनी भलवाडबासीले समस्या झेल्दैआएका छन् । दुई बर्षअघि खोलामा आएको बाढीले बगाउँदा विधुत प्राधिकरण गजेहडा वितरण केन्द्रका प्रमुखसहित तीन जनाको ज्यान गएको थियो ।

कोइली खोलाको बाढीले बर्षेनी थुप्रै व्यक्तिलाई बगाउने गरेको छ । सानो बर्षामा पनि ठूलो भेल आउने र बगाउने गर्दा स्थानीय कोइली खोला तर्दा त्रसित बन्ने गर्छन् । विगत ३ बर्षको अवधिमा मात्रै कोइली खोलाले बगाउँदा ११ जनाको मृत्यु भएको स्थानीय प्रशासनको भनाइ छ । 

लुम्विनी प्रदेश सरकारले पुल निर्माणका लागि बजेट व्यवस्थापन गरे पनि स्थानीयको जग्गा विवादका कारणले निर्माण कार्य रोकिएको लुम्विनी प्रदेश लेखा समितिका सभापति विष्णु पन्थीले बताउनुभयो ।