• १७ असार २०८१, सोमबार

कार्यदलले सिट बाँडफाँटका लागि साझा अवधारणा बनाउने

blog

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । फाइल तस्बिर

काठमाडौं, भदौ १० गते। सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको शुक्रबार बसेको बैठकले सिट बाँडफाँटको सम्बन्धमा साझा अवधारणा बनाउने भएको छ।

कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बालुवाटार बैठकमा शीर्ष नेतृत्वले कार्यदललाई सुम्पेको जिम्मेवारी अनुरुप हिजो संघको र आज प्रदेश सम्बन्धमा छलफल गरिएको जानकारी दिनुभयो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “दलहरुको दाबी धेरै प्रस्तुत भएका छन् तर त्यसलाई रियलिष्टिक ग्राउण्डमा राखेर जस्तो कुनै दलले संघमा प्राप्त गरेको मत सकेसम्म अर्को दललाई प्रदेशसम्ममा समावेश गरेर, सबै मत ट्रान्सफर हुने हिसाबले छलफल प्रारम्भ गरेका छौं।” यसैको आधारमा गठबन्धनका दलहरुको दाबी अगाडि बढेको उहाँको भनाइ छ।

निर्वाचनमा बढी जितौं भन्ने आकांक्षा सबैलाई हुने बताउनुहुँदै उहाँले यसलाई व्यवहारिक र वस्तुगत हिसाबले हेरेर एउटा प्रतिवेदन तयार गर्ने जानकारी गराउनुभयो।साझा अवधारणासहितको प्रतिवेदन गठबन्धनका शीर्ष नेतृत्वमा बुझाउने उहाँले उल्लेख गर्नुभयो।

मन्त्री कार्कीले भन्नुभयो, “एउटा प्रतिवेदन तयार गरेर नेतृत्वको हातमा दिन्छौं, साझा अवधारणा बनाउने गृहकार्य भइरहेको छ। सिट बाँडफाँट साझा अवधारणामार्फत् प्रकाशन गर्छौ”, मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पनि राजनीतिक स्थिरताका लागि गठबन्धनलाई अगाडि बढाउनुपर्ने ढंगबाट छलफल अघि बढेको उहाँको भनाइ छ।

राजनीतिक स्थिरता र देशलाई समृद्धिको बाटोमा कसरी अग्रसर गर्ने, यसका निमित्त के धारणा हुन्छन्, मुलुकको विकास र समृद्धिको निम्ति निर्वाचनपछि पनि गठबनधन जाने उहाँको भनाइ छ। उहाँले आजको बैठक नेताहरुले दिएको जिम्मेवारी बहन गर्ने विषयको नजिक नजिक पुगेको बताउनुभयो।

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको अर्को बैठक आइतबार दिउँसो ४ बजे बस्नेछ।