• १३ साउन २०८१, आइतबार

नवौं राष्ट्रिय खेलकुदको तयारी तिब्र

blog

राखेप सदस्य सचिव टंकलाल घिसिङ । फाइल तस्बिर

काठमाडौं, भदौ ९ गते । गण्डकी प्रदेशमा असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तिब्र पारिएको छ । नवौं मूल आयोजक समितिले बिहिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी र कामको विवरण बारे जानकारी दिएको हो ।

प्रतियोगिता आउन ५० दिन बाँकी छँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशका आठ जिल्लामा खेलहरु सञ्चालनका लागि प्रस्ताव गरिएको जनाएको छ ।राखेप सदस्य सचिव टंकलाल घिसिङले एथलेटिक्स, फुटबल, क्रिकेट, पुरुष भलिबललगायत अघिकांश खेल पोखरामा र म्याग्दी, गोरखा, स्याङ्जा, नवलपुर, गोरखा, तनहुँलमजुङलगायत जिल्लामा केही खेलहरु सञ्चालन हुने बताउनुभयो । यसको अन्तिम निर्णय भने प्राविधिक समितिले निरीक्षण र अनुमोदन गरेपछि भदौ १५ गतेसम्म  हुनेछ । 

प्रतियोगितामा ११ टिमका सात हजार ७९९ खेलाडीको सहभागिता रहनेछ । जसमा पुरुष चार हजार ११४ र महिला तीन हजार ६८५ जना महिला खेलाडी सहभागी हुनेछन् । सहभागी खेलाडीले ३९३ स्वर्ण, ३९३ रजत र ६०० कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सर्वाधिक पदक जित्ने टिमलाई १० लाख रुपियाँ बराबरको टिम च्याम्पियन रनिङ ट्रफि प्रदान गरिने बताईएको छ । प्रतियोगिताका लागि ६० करोड रुपियाँ बजेट सुनिश्चित भईसकेको राखेपले जनाएको छ । जसमा पहिलो किस्ता वापत १० करोड निकासा भइसकेको राखेप सदस्य सचिव घिसिङले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि विभिन्न उपसमितिले कार्यविधि तथा कार्यतालिका बनाई काम जारी राखेका छन् । सबै समितिले असोज १५ गतेसम्म सम्पूर्ण काम सकिसक्ने बताईएको छ । नवौंमा ३६ खेल तथा २ प्रदर्शनी खेल समावेश गरिएको छ ।