• ३१ वैशाख २०८१, सोमबार

प्रदिप गिरीलाई युरोपका लेखक–पत्रकारले सम्झिए

blog

नेता गिरीको स्मरणमा युरोपको ब्रसेल्समा आयोजित श्रद्धाञ्जली कार्यक्रम ।

काठमाडौं, भदौ ८ गते । नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएसँगै नेपाली राजनीतिले एक बौद्धिक राजनीतिज्ञ गुमाएको छ । 

सामाजिक सञ्जालमा गिरिको निधनप्रति नेपाली कांग्रेसका नेता र कार्यकर्ताले मात्र होइन राजनीतिमा रुचि नभएका सामाजिक क्षेत्रका व्यक्तित्वहरुले पनि श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । 

यसै सन्दर्भमा युरोपमा रहेका केही प्रगतिशील लेखक तथा पत्रकारहरुले एक कार्यक्रमको आयोजना गरी गिरीप्रति श्रद्धाञ्जली अर्पण गरियो । नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजनामा गिरीको जीवनीलाई लिएर चर्चा गरिएको थियो । 

कार्यक्रममा बोल्दै पत्रकार तथा लेखक पंचम अधिकारीले गिरी राजनीतिज्ञ मात्र नभई एक लेखक, चिन्तक र एक मार्क्सवादी दार्शनिक भएको बताउनु भयो ।  

नेता गिरीले नारी, लेनिनको जीवनी, मार्क्सवाद, अर्थशास्त्रलगायत किताब लेखेका कारण उहाँ नेता मात्र नभई एक चिन्तक पनि रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘गिरी सरल, मिलनसार, गान्धीका अनुयायी गिरी मार्क्सवादका ज्ञाता, कांग्रेस–कम्युनिस्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराण, उपनिषद् र श्रीमद्भागवत गीताको समेत राम्रो जानकार हुनुहुन्थ्यो । 

बेल्जियममा क्रियाशील वामपन्थी बुद्धिजीवी बोधराज पौडेलले गिरी नेपाली कांग्रेसको नेता र सांसद भए पनि उउहाँ नेपाली जनताले नै रुचाएको एक साझा चिन्तक रहेको चर्चा गर्नुभयो । 

उहाँ राजनीति गर्नेहरुका निम्ति मार्गदर्शक बन्नुभयो । उहाँले उच्च नैतिकता, आदर्श, निष्ठा तथा राजनीति गर्नुभएको भनाइ उहाँको छ ।  

त्यसैगरी, जनजाती नेता तथा बुद्धिजीवी मनिस गुरुङले गिरीको जीवन शैली अनुशरण गर्न लायक भएको र गिरीले जनजाती, दलित तथा उत्पीडित वर्गका लागि कलम चलाएको चर्चा गर्नुभयो । एनआरएन बेल्जियम कोषाध्यक्ष पुष्प नेपालले गिरी कांग्रेसको राजनीतिमा एउटा सक्षम र सरल व्यक्ति भएको स्मरण गर्नुभयो । 

यस्तै, नेपाल प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा स्तम्भकार दिल निशानी मगरले गिरी नेता मात्रै नभई लेखक र पत्रकारसमेत रहेको बताउँदै भन्नुभयो, ‘‘२०२८ सालमा बनारसबाट ‘अक्षर’ द्वैमासिक साहित्यिक मासिक पत्रिका, २०३७ र ३८ सालतिर प्रकाशित ‘समता’ पत्रिका, अंकुरलगायतका पत्रिकामा गिरीको प्रत्यक्ष संलग्नता थियो ।’’

माओवादी नेता जित लामाले गिरी मार्क्सवाद लेनिनवादको व्याख्या–विश्लेषण गर्न सक्ने व्यक्ति भएकाले इन्टरनेटको जमना नहुँदा गिरीको भाषण सुन्न आफू धेरै समय पर्खिएको स्मरण गर्नुभयो । युरोपमा रहेका लेखक पत्रकारहरुले जुममार्फत सोही कार्यक्रममा सहभागिता जनाएका थिए । 

नेपाल पत्रकार महासंघ युरोप शाखाका कार्यबाहक अध्यक्ष केजिन राईले आफू संसदीय पत्रकारिता गर्दा गिरीलाई नजिकबाट चिनेको र उहाँले बोलेका सबै कुराहरु झलझली सम्झिएको बताउनु भयो । 

नेता गिरीको साउन ४ गते ७५ वर्षको उमेरमा उपचारको क्रममा क्यान्सर रोगबाट निधन भएको हो । 

(ब्रसेल्सबाट इन्दिरा चाम्लिंगको सहयोगमा)