• ७ जेठ २०८१, सोमबार

जस्तापाता मुक्त विद्यालय भवन निर्माणको माग

blog

जस्तापाताले छाएको विद्यालय भवन । तस्बिर : गोरखापत्र

जीबछ यादव

लहान, भदौ ८ गते । सामुदायिक विद्यालय भवनका छाना प्रायः जस्तापाताले नै छाईएको हुन्छ । तर, जस्तापाताले छाएको भवनमा पठन-पाठन गर्न जाडो र गर्मी दुवै मौसममा उपयुक्त नदेखिएकोले जस्तापाता मुक्त विद्यालय भवन निर्माणको माग विधार्थी, शिक्षक र अभिभावकहरुले गर्न थालेका छन् । 

जस्तापाताले छाएको भवनमा विधार्थी र शिक्षक दुवैलाई उपयुक्त नदेखिएको लहान –१८ श्रीराजाजी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र नारायण चौधरीले बताउनुभयो । ‘‘जाडोमा जस्ताबाट सितका थोपा चुहिन्छ । गर्मीमा जस्तापाता तातेर कक्षामा खपिनसक्ने गर्मी हुन्छ । जस्तापाताले छाएको भवनमा पढँउदा विधार्थी शिक्षक दुवैलाई उपयुक्त देखिएन,’’ चौधरीले भन्नुभयो । 

शिक्षक विधार्थीहरु यतिबेला चर्को गर्मीमा कक्षामा पसिनाले भिजेर हैरान भईरहेको चौधरी जस्तै अन्य सामुदायिक विद्यालयक शिक्षक र विधार्थीले पनि गुनेसो गरेका छन् । लहान –१५ स्थित सगरमाथा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बीरेन्द्रकुमार चौधरी भन्नुहुन्छ, ‘‘शिक्षणमैत्री वातावरण बनाउन जस्तापाता विस्थापित गर्ने कार्यको सुरुवात हामीले गरिसकका छौं । न जाडोमा न गर्मीम उपयुक्त देखियो । पक्की छत भएको भवन निर्माण कार्य क्रमशः अगाडि बढाई सकेका छौ ।’’

जस्तापाता मुक्त विद्यालय निर्माण अभियान सखुवानन्कारकटिमा थालि सकेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताउनुभयो । उहाँले गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरुमा पक्की छत भएको सुरक्षित र शिक्षणमैत्री भवन निर्माणको लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको पनि बताउनुभयो । 

केहि नहुनुभन्दा केहि हुनु जाति भन्ने लोकोक्ति झैं विद्यालयहरुको पुरानो इतिहास हेर्दा माटोको भित्ता र फुस छाना भएको घर उपयुक्त रहेको देखिन्छ । यसलाई हटाएर ईँटाको पर्खाल र जस्तापाताको छाना भएको व्यस्थित भवनहरु निर्माण गरिएपनि त्यो मौसम अनुकुल नभएको स्थानीयको भनाई छ ।

स्थानीय सरकारलाई शिक्षा हेर्ने जिम्मा दिएपछि संघ र प्रदेश सरकारसँग समन्वय गरेर सामुदायिक विद्यालयको पक्की भवन निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको लहान नगरप्रमुख महे प्रसाद चौधरीले बताउनुभयो । 

लहान नगरपालिकाको ५९ वटै सामुदायिक विद्यालयको पक्की भवन निर्माणको लागि वडा र नगरबाट विनियोजन हुने बजेटलाई समेत प्राथमिकतामा राखेको उहाँले भन्दै आफ्नो पाँच वर्षे कार्यकालमा जस्तापातामुक्त विद्यालय भवन निर्माण गर्ने विश्वास दिलाउनुभयो । 

सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधारमा स्थानीय सरकारले थालेको साकारात्मक पहलले अधिकांश विद्यालयहरुले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले पनि पक्की र शिक्षण मैत्री भवनहरु निर्माण भईरहेको छ ।

केही वर्षपछि सामुदायिक विद्यालयहरु जस्तामुक्त हुनेतर्फ उन्मुख भइरहेको जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेशकुमार महतोले बताउनुभयो । उहाँले थप्नुभयो,‘‘समग्र जिल्लाको शैक्षिक र भौतिक अवस्था सुधार गर्न १७ वटै पालिकालाई एक ठाउँमा राखेर समन्वयात्मक कार्य अघि बढाइने सोचमा छौं ।’’