• ७ जेठ २०८१, सोमबार

इन्द्रजात्राको रौनक सुरु

लाखेको मुकुन्डो बाहिर निकालियो

blog

काठमाडौँ, भदौ ८ गते ।  इन्द्रजात्राका लागि मङ्गलबार मजिपा लाखे आजु र झ्यालिन्चाको ख्वापा (मुकुन्डो) बाहिर निकालिएको छ। जैसीदेवलमा रहको लाखेननीस्थित लाखेको घर (छें) मा रहेको प्राचीन ‘पिला’ गोप्य माटोको सन्दुकमा राखिएको लाखे र झ्यालिन्चाको ख्वापा निकालिएको हो। 

मजिपा लाखेको मूल नाइके राजीव रन्जितका अनुसार अरू बेला लाखे आजुको मुकुट सन्दुकभित्र राखिने गरिन्छ। हरेक भाद्र कृष्णपक्ष एकादशीका दिन मुकुटलाई त्यहाँबाट निकाली विशेष पूजा गरेर रङरोगनका लागि दिइन्छ। 

उहाँले मुकुन्डोलाई बनाउन र रङहरू लगाउन यट्खा टोलमा रहेका चित्रकारहरूकहाँ लगिने जानकारी दिँदै १५ दिनपछि दशमीका दिन मुकुन्डो फिर्ता ल्याइन्छ र एकादशीका दिन लाखेको मुकुन्डोमा रातो कपाल सजाउने  जानकारी दिनुभयो। 

द्वादशीको दिन उपाकु जाने दिनबाट लाखेनाच सुरु हुन्छ। ८ दिनसम्म लाखेनाच नचाएपछि केही दिनपछि समयबजी चढाई विधिवत् रूपमा लाखे र झ्यालिन्चाको मुकुन्डोलाई फेरि ‘पिला’मा राखिने बताउनुभयो। काठमाडौँको एक प्रमुख जात्रा इन्द्रजात्राको समयमा मजिपाः लाखेको मुकुट लगाउने गरिन्छ। इन्द्रजात्रा सकेको केही दिनपछि भोज खुवाएर भोलिपल्ट लाखेको ख्वापा ‘पिला’मा राखिन्छ। एक दिनलाई घर बन्द गरिन्छ। लाखे स्वयं आएर भोज खान आउने विश्वास रहेको स्थानीयहरू बताउँछन्। 

गुणकामदेवको पालाबाट लाखेनाच सुरु भएको विश्वास गरिन्छ। त्यसैले पनि चिकंमुगल, जैसीदेवल, मजिपात क्षेत्रको सडकलाई गुणकामदेव मार्गका रूपमा नामकरण गरिएको छ। इन्द्रजात्रामा देखाइने सबै नाचहरूमध्ये लाखे नाचको आफ्नै मौलिकता र इतिहास छ। एक दानवलाई उसको दानवत्व अन्त्य गराई शान्त बनाउन सफल भएको जात्राका रूपमा मजिपाः लाखे आजुको नृत्य छ। राक्षस स्वरूप भए पनि एक देवताको उपमा पाई स्थापित हुन सफल विम्ब हो, मजिपाः लाखेआजु।