• १४ असार २०८१, शुक्रबार

माओवादी केन्द्रका अन्तर्घातीलाई कारबाही गर्न सिफारिस

blog

काठमाडौँ, भदौ ७ गते । स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र अन्तर्घात र अनुशासन उल्लङ्घन गर्नेलाई निलम्बन र निष्कासन गर्न सिफारिस गरिएको छ । पार्टीले गठन गरेको छानबिन समितिले अन्तर्घात गर्नेलाई निष्कासन गर्नुपर्ने सिफारिस गरेको हो । 

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार छानबिन समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्घात र अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राम्रो काम गर्नेलाई प्रोत्साहित र नराम्रो काम गर्नेलाई दण्डित नगर्ने हो भने पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन । आवश्यक कारबाही अगाडि बढाइनेछ ।”

उहाँले पार्टीलाई अनुशासन र विधिका आधारमा सञ्चालन गर्न समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको बताउँदै पार्टीभित्र अनुशासन तोड्ने र अराजकतातिर जानेलाई दण्डित गर्ने प्रक्रिया अगाडि बढाएमा मात्र माओवादी केन्द्र कम्युनिस्ट पार्टी रहने तर्क गर्नुभयो । 

प्रतिवेदनले पार्टीलाई विधि र अनुशासित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पार्टी अध्यक्ष प्रचण्डले भन्नुभयो, “प्रतिवेदन पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित पार्नेसँग सम्बन्धित छ । दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि नबढाईकन पार्टी निर्माण, कम्युनिस्ट आन्दोलनको पुनर्गठन र समाजवादतिरको यात्रा सम्भव छैन ।” समग्रमा सैद्धान्तिक रूपले विचार गरेरै छानबिन समिति बनाएको उहाँको दाबी छ । 

अध्यक्ष प्रचण्डले पदाधिकारी र स्थायी कमिटी बैठकमा छलफल गरेर प्रतिवेदनअनुसार आवश्यक कारबाही अगाडि बढाइने प्रतिबद्धता गर्नुभयो । 

समितिले स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको निष्कर्षसहित निलम्बन, निस्कासन र चेतावनीको कारबाही गर्न सिफारिस गरेको छ । टङ्क राईको संयोजकत्वमा गठित छानबिन समितिले अन्तर्घातको आरोप लागेका नेता कार्यकर्तासँग बयान लिएर प्रतिवेदन तयार पारेको हो । 

माओवादी केन्द्रले असार २५ गते राईको संयोजकत्वमा खिमलाल देवकोटा र मुक्ति प्रधान सदस्य रहेको छानबिन समिति गठन गरेको थियो । समितिले उदयपुर, ताप्लेजुङ, महोत्तरी, सिरहा र बर्दियालगायतका जिल्लामा स्थलगत अध्ययन गरेको बताउँदै संयोजक राईले पाँच सयभन्दा बढी व्यक्तिलाई कारबाहीको सिफारिस गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यथार्थ तथ्यलाई राख्ने कोसिस गरेका छौँ । नेताहरूले उन्मुक्ति पाउने, कार्यकर्ता दण्डित हुने स्थिति हुनुहुँदैन । गल्ती गरेका ठूला नेता पनि कारबाहीको सिफारिसमा छन् ।” माओवादी केन्द्रले स्थानीय चुनावका मधेश प्रदेशमा बढी अन्तर्घात भएको बताउँदै आएको छ ।