• २९ चैत २०८२, आइतबार

सुरक्षाकर्मी र कर्मचारीलाई आगलागी नियन्त्रणसम्बन्धी तालिम

blog

आगलागी नियन्त्रणसम्बन्धी तालिममा सहभागी सुरक्षाकर्मी र कर्मचारी ।

इमानसिं राना

रामपुर (पाल्पा), चैत २७ गते । जिल्लाको रामपुर नगरपालिकाले सुरक्षाकर्मी तथा कर्मचारीका लागि आगलागी नियन्त्रणसम्बन्धी तालिम दिएको छ। आगलागीको समयमा खटिने कर्मचारी, नगर प्रहरीसँगै नेपाली सेना र नेपाल प्रहरीलाई आगलागी तथा वन डढेलो नियन्त्रणको विषयमा तालिम दिएको हो।

दमकलको प्रयोग, अग्नि नियन्त्रक यन्त्रको प्रयोग, विभिन्न स्थानमा आगो निभाउने तरिका, भान्छा घरको ग्यास आगलागी भएमा अपनाउनु पर्ने विधि र यसको नियन्त्रण, सामग्रीको प्रयोग, वन डढेलो नियन्त्रण लगायतका विषयमा प्रयोगात्मक अभ्याससहितको प्रशिक्षण प्रदान गरेको हो। 

दुर्गा फायर एक्स्टिङगुइजर एन्ड रिफिलिङ बुटवलका श्याम कुँवरले आगो नियन्त्रणका लागि वन तथा जुनसुकै स्थानमा दमकलको प्रयोग गर्नु उचित नहुने भन्दै अवस्था र स्थान अनुसार दमकलको प्रयोग गर्न सुझाव दिनु भएको थियो ।

उहाँले अग्नि नियन्त्रक यन्त्र प्रयोग, विभिन्न पाउडरको प्रयोग, घर भान्छाको ग्यास चुलोमा आगलागी भएमा कसरी नियन्त्रण गर्ने, घर, कार्यालय, विभिन्न विद्युतिय सामग्रीमा लागेको आगो नियन्त्रण, वनमा लागेको आगो नियन्त्रण लगायतका विषयमा प्रशिक्षण दिनुभएको हो । आगलागी नियन्त्रण गर्न जाँदा अत्यन्तै सावधानिपूर्वक र संयमतासाथ काम गर्न आग्रह गर्नुभयो । 

इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख लालबहादुर सुनारले आगो मान्छेको नजिकको मित्र र शत्रु दुवै भएको बताउनुभयो । ग्यासको प्रयोग पछि रेगुलेटर बन्द नगर्दा, विद्युतिय सामान धेरै समय चलाउँदा तथा चार्ज गर्दा, आगोको प्रयोगपछि राम्ररी ननिभाउँदा आगलागीका धेरै घटना घट्ने गरेको बताउँदै सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाका विपद् व्यवस्थापन समिति संयोजक एवं वडा नं ९ का अध्यक्ष डिलबहादुर रानाले नगरपालिका भित्रका विभिन्न वन तथा स्थानमा हुन सक्ने सम्भावित आगलागीका घटना न्यूनीकरण र आगलागी भई सकेपछि नियन्त्रणका लागि आवश्यक तयारीस्वरूप तालिम प्रदान गरिएको जानकारी दिनुभयो । सब डिभिजन वन कार्यालय रामपुरका प्रमुख  मेघनाथ काफ्लेले डढेलो मानवीय क्रियाकलापका कारण आउने प्रकृतिक विपत्ति भएको भन्दै आगलागी नियन्त्रण गर्नुभन्दा लाग्नै नदिनका लागि सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो । 

वन डढेलो न्यूनीकरण र नियन्त्रणका लागि मानवीय सचेतना आवश्यक रहेको भन्दै वन कार्यालयले पनि विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।