• ५ जेठ २०८१, शनिबार

तीनदिने पाथीभरा पर्यटन महोत्सवको तयारी

blog

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवबारे जानकारी गराइँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ६ गते । ताप्लेजुङमा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको तयारी थालिएको छ । जिल्लाको पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित आगामी असोज दोस्रो साता महोत्सव आयोजना गर्नेगरी तयारी थालिएको हो । 

सदरमुकाम फुङ्लिङमा सोमबार पत्रकार सम्मेलन गर्दै पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव–२०७९ को तयारी अघि बढिसकेको आयोजकले जानकारी दिएको छ । मूल समारोह समितिका अनुसार असोज ११, १२ र १३ गते तीन दिनसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सव अवधिभर न्यूनतम एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित तयारीलाई अघि बढाइएको मूल समारोह समितिका संयोजक तारानाथ घिमिरेले जानकारी दिनुभयो । 

धार्मिक पर्यटकीय स्थल पाथीभरासहित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, फुङ्फुगे झरना, तिम्बुङपोखरीलगायत जिल्लामा रहेका पर्यटकीयस्थल तथा गन्तव्यको प्रचारप्रसार गरी पर्यटन प्रवर्धन गर्ने मुख्य उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको घिमिरेले बताउनुभयो । “वर्षभरिमा कम्तिमा पाँच लाख दर्शनार्थीले प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्नेगरेका छन्, अब महोत्सव अवधिमा मात्र कम्तीमा एक लाखले पाथीभराको दर्शन तथा महोत्सवको अवलोकन गर्ने अनुमान गरेका छौं” संयोजक घिमिरेले भन्नुभयो ।

महोत्सवको माध्यममार्फत पाथीभरासहित जिल्लामा भित्रिने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा राखिएको बताउनुभयो । यता नेपालीको महान् चाड दसैँको समय हुने भएकाले सो समय पाथीभरा दर्शनको मुख्य मौसम हुने हुँदा महोत्सवमा अपेक्षाकृत बढी दर्शनार्थी तथा पर्यटकको उपस्थिति रहने मूल समारोह समितिले अनुमान गरेको छ । 

यसैबीच महोत्सवमा आयोजना हुने खुला म्याराथन प्रतियोगिताका विजेताले पाउने पुरस्कार विवरण पनि सार्वजनिक गरिएको छ । समितिका अनुसार खुला म्याराथन (दौड) मा प्रथम हुनेले नगद एक लाख ५१ हजार १५१ रुपियाँ र प्रमाणपत्र पाउनेछ । यस्तै द्वितीयले एक लाख ११ हजार १११ र तृतीय हुनेले ५१ हजार १११ रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र पाउनेछन् ।

महिला हाफ म्याराथनतर्फ पनि प्रथम हुनेले ८१ हजार १११ रुपियाँ, द्वितीयले ५१ हजार १११ र तृतीयले ३१ हजार १११ रुपियाँ नगद पुरस्कारका साथ प्रमाणपत्र प्राप्त गर्ने मूल समारोह समितिले जनाएको छ । विगत २०६५ सालमा पहिलो पटक पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना गरिएको थियो । त्यसपछि केही वर्षसम्म महोत्सवलाई निरन्तरता दिइए पनि २०७६ पछि सञ्चालन हुन सकेको थिएन ।

यसवर्ष कोरोना महामारी केही नियन्त्रण हुँदै गएकाले महोत्सवलाई निरन्तरता दिन लागिएको आयोजकले जनाएको छ । पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजकको भूमिकामा पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको भीमकाली गुल्म छन् ।