• २१ पुस २०८१, आइतबार

बाढी पहिरोका कारण सुडानका छ राज्यमा आपतकाल घोषणा

blog

खार्तुम, भदौ ६ गते । सुडानका छ राज्यमा आपतकाल घोषणा गरिएको छ । अत्याधिक वर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएकाले आपतकाल घोषणा गरिएको हो । “आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले देशका छ राज्यमा आपतकाल घोषणा गर्ने निर्णय गरेको छ, ती राज्यहरुमा उच्च सतर्कता आपाउनुपर्ने भएको छ,” एक मन्त्रीले भने ।

सरकारी अधिकारीहरुका अनुसार रिभर नाइल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा आपतकाल लागू गरिएको हो ।

मन्त्रिपरिषद्ले प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु परिचालन गर्ने र आवश्यक सहयोगको प्रबन्ध गर्ने निर्णय पनि गरेको कार्यबहाक मन्त्री ओस्मन हुसेन ओस्मनले जानकारी दिनुभएको छ ।

बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरुलाई अनुरोध गरेको छ । स्वदेशी तथा विदेशी सहयोग संकलनका लागि बैंक खाता खोल्ने निर्णय भएको पनि मन्त्री हुसेनले जानकारी दिनुभयो । बाढी पहिरोबाट पीडितलाई सहयोगका लागि प्रभावकारी उपाय अपनाउन पनि सरकारी अधिकारीहरुले निर्देशन दिएका छन् ।  रासस/सिन्ह्वा