• ७ जेठ २०८१, सोमबार

सार्वजनिक विद्यालय सुधार अभियान सुरु

blog

काठमाडौँ, भदौ ६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी तीन वर्षभित्र सबै सामुदायिक विद्यालयमा सुविधा सम्पन्न भवन निर्माण गरिसक्ने बताउनुभएको छ। आइतबार बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार अभियान सुरु भइसकेको बताउनुभयो। 

“१० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौँ” उहाँले भन्नुभयो, “१२ हजार विद्यालयको भौतिक संरचना बनिसकेका छन्। अब तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधारको काम सक्ने गरी अघि बढ्छौँ।”

विद्यालयको भौतिक पूर्वाधारसँगै कानुनी सुधार र शिक्षण सिकाइ प्रक्रियाको सुधार मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै उहाँले विद्यालय सुधार गर्न सरोकारवाला सबैले साझा सङ्कल्प गर्नुपर्ने बताउनुभयो। 

“शिक्षकका सेवा सुविधामा समस्या होलान् तर शिक्षा मन्त्रालय निजामती कर्मचारीसरहको सेवा सुविधा दिनेगरी अघि बढेको छ,” उहाँले भन्नुभयो, “शिक्षा मन्त्रालय कर्मचारीको मात्र नभई शिक्षकको पनि हो।” उहाँले दुई हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयमा बसको व्यवस्था, दरबन्दी मिलानलगायतका समस्यामा मन्त्रालयले विशेष ध्यान दिने आश्वासन दिनुभयो। 

उहाँले उच्च शिक्षालाई जोड्न विद्यालय शिक्षासँग प्राविधिक शिक्षा जोड्ने प्रक्रिया गत वर्षदेखि सुरुवात भएको बताउँदै यस वर्ष थप एक सय विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। सोही कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सार्वजनिक शिक्षालय सुधार गर्ने काममा महानगरपालिका लागिरहेको बताउँदै सार्वजनिक विद्यालयको गुणस्तरमा थप सुधार गर्न महानगरपालिका तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सही नेतृत्व हुँदा विद्यालयको गुणस्तरमा परिवर्तन आउने बताउनुभयो। उहाँले हिजोका कमजोरीलाई सच्याउँदै विद्यालयको नक्साङ्कन, दरबन्दी मिलानलगायतका विषयमा महानगरले ध्यान दिनुपर्ने सुझाव दिनुभयो। 

नवर्निमित ३५ कोठे विद्यालयको भवन तीन करोड ५० लाख रुपियाँको लगानीमा सम्पन्न भएको हो। विद्यालयमा हाल चार हजार दुई सय विद्यार्थी अध्ययनरत छन्।