• ६ साउन २०८१, आइतबार

उत्तेजक नृत्य गर्ने भारतीय नर्तकीसहित १४ पक्राउ

blog

लक्ष्मीनियाँबाट पक्राउ परेका भारतीय आरकेष्ट्रा समुहका नर्तकीलाई आइतवार सोधपुछ गर्दै गौशाला प्रहरी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

वर्दिवास, भदौ ५ गते । कृष्ण अष्टमीकाबेला उत्तेजक नृत्य प्रस्तुत गरी सांस्कृतिक प्रदुषण फैलाएको आरोपमा प्रहरीले भारतीय आरकेष्ट्रा समुहलाई नियंत्रणमा लिएको छ । प्रहरीले समूहका ९ नर्तकीसहित १२ जनालाई पक्राउ गरेको हो । 

गौशाला २ निगौलबाट ४ नर्तकी तथा ११ नम्बर लक्ष्मीनियाबाट ५ नर्तकी र उक्त समूहका ३ पुरुषलाई नियंत्रणमा लिएको गौशाला प्रहरीेले जनाएको छ । उनीहरु महोत्तरी प्रशासनको आदेशविपरित नेपाल भित्रिएको प्रहरीको आरोप छ ।  

पक्राउ परेका दुवै आरकेष्ट्रा समुह भारत विहार सीतामढी जिल्लाका भएको प्रारंभिक छानवीनमा खुलेको प्रहरीले जनाएको छ । उनीहरुले कृष्ण अष्टमीको अवसरमा नाचगानका लागि भाडामा आएको प्रहरी सोधपुछका क्रममा बताएका छन् ।

आरकेष्ट्रा नियन्त्रण गर्न घटनास्थल पुगेको प्रहरी टोलीमाथि ढुङ्गामुढा र अवरोध गर्ने २ जना स्थानीयलाई पनि प्रहरीले पक्राउ गरेको छ । अश्लील र उत्तेजक रुपमा प्रस्तुत हुने भारतीय नर्तकीकै कारण विगतका वर्षमा विभित्र आपराधिक घटना घटनुकासाथै स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलिसमेत चलाउनु परेको हुँदा प्रशासन कार्यालयले भदौ २ गते सार्वजनिक सूचना जारी गरी आर्केष्ट्रा निषेध गरेको थियो ।  

प्रशासनको आदेश अटेर गर्दै भाडामा ल्याइएका आरकेष्ट्रा समुहले सांस्कृतिक प्रदुषण फैलाएको भनि स्थानीयले समेत विरोध गरेका थिए । नियन्त्रणका लागि ईलाका प्रहरी गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रको कमाण्डमा शनिवार मध्यराति घटनास्थल पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।  

प्रहरीले सम्झाइ बुझाई नृत्य नगर्न आग्रह गरिरहेकोबेला लक्ष्मीनियामा केही उच्छृङ्खल समुहले प्रहरीमाथि आक्रमणको प्रयास र प्रहरी चौकीमा ढुङ्गामुढा गरेपछि राति स्थिति तनावपूर्ण बनेको थियो । समुहको ढुङ्गामुढाबाट कान्तिवजार प्रहरी कार्यालय भवनमा भौतिक क्षति पुगेको छ । घटनास्थलबाट गौशाला ११ लक्ष्मीनियाका ४६ वर्षिय कमलेश कर्ण र ३० वर्षिय सन्जयकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाइएको गौशाला प्रहरी निरीक्षक मिश्रले बताउनुभयो । दुवैमाथि अग्रिम कारवाहीका लागि आइतवार फाईलसहित प्रशासन कार्यालयमा पेस गरेको गौशाला प्रहरीले जनाएको छ ।