• ६ साउन २०८१, आइतबार

‘एकै प्रकृतिका खेलमा दुई संघ आवश्यक छैन’

blog

कोर्समा सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै राखेपका सदस्य सचिव टंकलाल घिसिङ । तस्बिर : राखेप

काठमाडौं, भदौ ५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एटै प्रकृतिका दुई संघ खेलकुदका आवश्यक नरहेको बताउनुभएको छ ।

राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्सको समापन अवसरमा बोल्दै घिसिङले भन्नुभयो, ‘एकै प्रकृतिका खेलमा दुई संघ आवश्यक छैन । यसको जवाफ संघमा रहेका नेतृत्वले दिन आवश्यक छ । आफ्नो कार्यकालमा अनावश्यक संघहरुको अस्तित्व रहने छैन । म दुई संघलाई एक हुन सुझाव दिन चाहन्छु ।’

नेपालमा तेक्वान्दो खेलको दुई वटा संघ अस्तित्वमा रहेको छ । नेपाल तेक्वान्दो संघलाई अन्तर्राष्ट्रिय मान्यता छ भने राष्ट्रिय तेक्वान्दो संघ, नेपाललाई राखेपको मान्यता रहेको छ । यसैगरी परिषद्का सदस्य एवं नेपाल आईटिएफका अध्यक्ष अञ्जन धमलाले विश्वमानै तेक्वान्दो संघ एकिकरणको अभियानमा रहेको भन्दै नेपालमा अस्तित्वमा रहेका तेक्वान्दो संघलाई पनि एकिकृत गर्नु पर्ने र त्यसका लागि परिषद् अगाडि बढिसकेको बताउनुभयो । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस केन्द्रमा संचालन भएको सेमिनार तथा कोर्स आइतबार सम्पन्न भएको हो । कोर्समा सहभागी प्रशिक्षकहरुलाई सदस्य सचिव घिसिङले प्रमाण पत्र प्रदान गर्नुभयो । कोर्समा उपत्यका तथा विभिन्न जिल्लाका एक सय ३५ जनाको सहभागिता रहेको थियो ।

संघले लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको बाँकेमा सेमिनार तथा कोर्स भदौ १० देखि १२ गतेसम्म तथा प्रदेश १ र मधेश प्रदेशमा भदौ १७ देखि १९ गतेसम्म संचालन गर्ने पनि जनाएको छ ।