• १९ असोज २०८१, शनिबार

रियल म्याड्रिडको सानदार जित

blog

सेल्टा भिगोविरुद्ध गोल गरेपछि रियलका कप्तान करिम बेन्जेमा । तस्बिर : एएफपी

काठमाडौं, भदौ ५ गते । साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।

रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गर्नुभयो । सेल्टा भिगोका इयागो आसपासले सान्त्वना गोल फर्काउनु भएको थियो । रियलले १४ओं मिनेटमा सुरुवाती गोल गरेको थियो ।

बेन्जेमाले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । डिबक्स भित्र सेल्टा भिगोका रेनाटो तापियाले ह्यान्ड गरेपछि रियलले पेनाल्टीको मौका पाएको थियो । त्यसपछि २३ओं मिनेटमा सेल्टाका इयागोले पेनाल्टीमा नै गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । 

रियलका इडर मिलिसाओले डिबक्स भित्र ह्यान्ड गरेपछि सेल्टाले पेनाल्टी पाएको थियो । ४१औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई पुनः अग्रता दिलाउनुभयो ।५६औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई थप बलियो बनाउनुभयो । ६६औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियललाई सजिलै जिताउनुभयो ।

लगातार दोस्रो जितसँगै शीर्षस्थानमा रहेको रियलले ६ अंक बनाएको छ । पराजित सेल्टा भिगो एक अंक सहित १४औं स्थानमा छ । अन्य खेलमा ओसासुनाले क्याडिजलाई २–० र रियल बेटिसले मालोर्कालाई २–१ गोलले पराजित गरेको छ । एजेन्सी