• २२ असार २०८१, शनिबार

गाउँमै कृषिबाट वार्षिक २० लाख रूपियाँ आम्दानी गर्दै खराल

blog

कृषक भुवन खराल र कृषि फर्म, तस्विर – तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, भदौ ५ गते । श्रम र उमेर विदेशमा खर्चिनु भन्दा स्वदेशमा मिहेनत गर्दा मनग्यै आम्दानी गर्न सकिन्छ भने उदाहरण यहाँका २९ वर्षीय भुवन खराल बन्नुभएको छ । गाउँमा व्यवसायिक कृषिबाट उहाँले कोरियामा भन्दा राम्रो आम्दानी गर्नुभएको छ ।

नाम निकालेर रोजगारीमा जान लाग्नुभएका उहाँले देशमा केही गर्नुपर्छ भन्ने मान्यतामा विगत ६ वर्ष अघिदेखि रुरु रेसुंगा कृषि फर्म दर्ता गरी कृषि पेशामा होमिनुभयो ।

शिक्षाशास्त्रबाट स्नातक पास गर्नुभएका खरालले अहिले पाल्पाको अर्गलीमा चार सय रोपनी र हुँगामा झण्डै एक सय रोपनी गरेर करिब पाँच सय रोपनी जग्गामा व्यवसायिक कृषि गर्नुभएको छ । 

उहाँको बारीमा अहिले काउली, बन्दा, टमाटर, खुर्सानी, मुला लटरम्म परेका छन् । उहाँले कृषि पेशाबाट वार्षिक २० लाख रूपियाँ बढी बचत गर्ने गरेको बताउनुभयो ।


–भुवन खरालका पिता काम गर्नुहुँदै

उहाँले अहिले २० जनालाई रोजगारी दिने गरेको बताउँदै आवश्यक परेमा दैनिक ज्यालादारीमा समेत काममा लगाउने गरेको बताउनुभयो ।  

व्यवसायिक कामदारको अभाव

खरालले अहिले व्यवसायिक रुपमा काम गर्ने कामदारको समस्या भएको बताउनुभएको छ । गाउँमा व्यवसायिक रुपमा काम गर्ने भन्दा पनि परम्परागत रुपमा काम गर्ने चलन अझैँ कायम रहेकाले कामदारको समस्या भएको छ । 

बजारको समस्या छैन  

खरालले उप्पादन गरेको कृषि उपज सबै पसलले खरिद गरिदिने गरेको बताउनुभयो । आफूले उत्पादन गरेका कृषि उपजहरु सबै खरिद गर्ने गरी पैँचो पसलसँग सम्झौता गरेको भन्दै उत्पादन गर्न सके बजारको कुनै समस्या नभएको बताउनुभयो । 

यता, पैँचो पसलका प्रबन्धक धुव्र न्यौपानेले गाउँमा किसानले उत्पान गरेका कृषि उपजलाई गाउँमै पुगेर खरिद गरेको बताउनुभयो 

आवश्यक सहयोग हुन्छ : ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्र, गुल्मीका प्रमुख नवराज भण्डारीले ज्ञान केन्द्रले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । खराललाई करार खेती अन्र्तगत अनुदान प्रदान गरेको बताउँदै काम गर्ने युवा र कृषकहरुका साथमा सधैँ ज्ञान केन्द्र रहेको दाबी गर्नुभयो ।