• १४ वैशाख २०८१, शुक्रबार

सञ्चालनमा आयो म्युजिकल वाटर फाउण्टेन

blog

सालबारीमा म्यूजिकल वाटर फाउण्टेन

विष्णुप्रसाद पोखरेल

दमक, भदौ ५ गते । झापाको अर्जुनधारा गाउँपालिकामा पर्ने शहीद उड्डयनपार्कको रुपमा चिनिएको राजनीतिक पर्यटकीयस्थल सालबारीमा ‘म्युजिकल वाटर फाउण्टेन’ को उद्घाटन भएको छ । 

झापा विद्रोहको क्रममा कारागार सार्ने बहानामा सुखानी जङ्गलमा २०२९ साल फागुन २१ तत्कालीन अवस्थामा राज्यपक्षबाट मारिएका पाँच योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुईंकेलको सम्झनामा निर्माण गरिएको सालबारी सुखानी पार्कमा म्युजिकल वाटर फाउण्टेनको उद्घाटन भएको हो ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राति ९ बजे उक्त फाउण्टेनको उद्घाटन गर्नुभएको हो । उहाँले खोलाखोल्सा र जङ्गललाई पयर्टकीय स्थलको रुपमा विकास गर्न सकिन्छ भन्ने उदाहरण भएको बताउनुभयो । पर्यटकहरुका लागि एउटा राम्रो आकर्षण थपिएको छ, ओलीले भन्नुभयो ।

गत आर्थिक वर्ष २०७८/०७९मा सङ्घीय पर्यटन मन्त्रालयबाट विनियोजन भएको ५० लाखसहित जम्मा ५५ लाख ९७ हजार एक सय १६ रुपियाँको लागतमा फाउन्टेन बनेको जनाइएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठानका अनुसार सङ्गीतको धुनमा पानीको रङ्गिन फोहरा अवलोकन गर्न पोखरी नजिक पाँच हजार ५५७ वर्ग फिट प्यारापिट पनि निर्माण गरिएको छ ।

प्यारापिट निर्माणका लागि प्रदेश सरकार पर्यटन मन्त्रालयको २० लाखसहित जम्मा २२ लाख ९० हजार एक सय ३३ रुपियाँको लागत लागेको प्रतिष्ठानका सहायक व्यवस्थापक योगेन्द्र रिजालले बताउनुभयो ।

सुखानी पार्कमा कछुवा उद्धार तथा प्रजनन केन्द्र पनि छ ।  जङ्गलभित्र झापा विद्रोहका पाँच शहीदको शालिक, पोखरीमा बोटिङको व्यवस्था, आकर्षक झोलुङ्गे  पुलसहित नयाँ आकर्षणको रुपमा फाउण्टेन थप भएको हो ।

तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले २०७० साल फागुन २१ गते शहीद स्मृति उद्यानको रुपमा यसको उद्घाटन गर्नुभएको थियो ।