• ६ जेठ २०८१, आइतबार

पाकिस्तानमा शनिबारको वर्षा र बाढीबाट ३६ को मृत्यु

blog

इस्लामावाद, भदौ ५ गते । पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।

यहाँका उद्धार अधिकारीहरुले दिएको समाचारअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घाइते छन् ।     

त्यसैगरी पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्थुन्क्वामा पनि बाढीको प्रकोप बढेको छ । सो प्रान्तमा गएको २४ घन्टायता बाढीमा परेर कम्तीमा पनि ११ जनाले ज्यान गुमाएका छन् ।     

उक्त दुई प्रान्तमा वर्षा जारी रहेकाले बाढीको थप प्रकोप बढ्न सक्ने भन्दै सतर्क रहन सरकारले सूचना जारी गरेको छ ।     

यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले क्षतिको विवरण आउन बाँकी रहेको बताएको छ ।उक्त निकायले गएको २४ घन्टामा पाकिस्तानका कैयौँ क्षेत्रमा बाढी र वर्षा आएको भन्दै शनिबार बिहानैदेखिको वर्षा अविरल रुपमा आइतबार बिहानसम्म आएकाले अरु पनि क्षति भएको अनुमान गरिएको छ ।     

विवरणहरु आउन बाँकी रहेको सो निकायले जनाएको छ । पछिल्लो वर्षा र बाढीले २० हजारभन्दा बढी घर भत्किएका छन् ।यो मनसुनी वर्षामा मात्र पाकिस्तानमा सात सयभन्दा बढीको ज्यान गएको छ । यसमा परेर हजारौँ व्यक्ति घरबारविहीन भएका बताइएको छ ।