• ६ साउन २०८१, आइतबार

अभिषेक र आशुतोषलाई स्वर्ण

blog

तेक्वान्दोमा पदक विजेता खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौं, भदौ ४ गते । नेपालका अभिषेक बराल र आशुतोष बरालले मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्नु भएको छ ।

शनिबार भएको खेलमा अभिषेकले पुरुष ८० केजी तौल समूह र आशुतोषले पुरुषकै ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं जुनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक कुमार लामा घिसिङले जानकारी दिनुभयो । 

यसैगरी पुरुष ५४ केजी तौल समूहमा पुजन खड्का, ७४ केजीमा सुरज कार्की र पुरुषकै ६८ केजीमा अबास खानले रजत पदक जित्नु भएको छ । महिला ६८ केजी तौल समूहमा पूजा कुँवर, पुरुष ५२ केजीमा अभिषेक डल्लाकोटी, ५५ केजीमा श्रीचन्द्र कार्की, ८७ केजीमाथिको तौल समूहमा अफ्ताव खान र ६८ केजीमा ज्वालासिंह गुरुङले कांस्य पदक जित्नु भएको छ । 

यसअघि शुक्रबार भएको पुम्सेको प्रतिस्पर्धामा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको थियो । नेपालकी रेखमाया गुरुङले महिला ३० देखि ४० वर्ष उमेर समूहमा स्वर्ण, महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईं, यही समूहको पुरुषमा मोहमद उमर खान र ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले रजत पदक जित्नु भएको थियो ।

मलेसियापछि नेपाली खेलाडीले भियतनाममा हुने ११औं एसियन जुनियर तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । जुनियर तेक्वान्दो च्याम्पियनसिप अगस्ट २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ ।