• ६ साउन २०८१, आइतबार

६ जना कलाकार ३५ कलाकृति प्रदर्शन

blog

काठमाडौं भदौ ४ गते। ६ जना कलाकारका ३५ थान कलाकृति अरुपण आर्ट ग्यालरीमा शनिबारबाट प्रदर्शनी सुरु भएको छ । नियो अरुपण आर्टिष्ट ग्रुपका सञ्जु प्रधान, रीता खनाल, कोमल श्रेष्ठ, सुन्दरमाला बैठा, गंगा अधिकारी र खुसी मास्केका कलाकृति प्रदर्शनीमा राखिएका हुन्। 

प्राज्ञ रमेश खनालसँग विगत दुई वर्षदेखि कला सिक्दै आउनु भएका कलाकारले प्रदर्शनीमा हिमाली दृष्यका साथै मुहार चित्रण, स्थिर वस्तु चित्रण, समसामयिक र मिथिला चित्र प्रदर्शनीमा राख्नु भएको छ। यसका साथमा मठ मन्दिर र गणेश कृष्ण आदि देवी देवताका चित्रसमेत राखिएका छन्। 

प्रदर्शनीलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले उद्घाटन गर्दै ‘कलाकारको कला माँझिदै गएकोमा प्रशन्नता व्यक्त गर्नुभयो। विस्तारै कलाकारले आफ्नो शैलीको विकासमा जोड दिँदै जान उहाँले सल्लाह दिनुभयो। 

कार्यक्रममा केशवराज खनालले प्रदर्शनमा राखिएका कलाकृतिको समीक्षात्मक टिप्पणी गर्दै आगामी दिनमा कलाकारले कुनै एक विषयमा साधनारत रहदै एकल कला प्रदर्शनीको गर्न सक्ने क्षमता कलाकारमा रहेको औल्याउनु भयो। आफ्नो शैली र नेपाली विषयलाई पनि कलाकारले कलाको विषय बनाएकोमा सन्तोष मिलेको उहाँको भनाइ छ।

प्राज्ञ रमेश खनालले दुई वर्षको अन्तरालमा विद्यार्थीले राम्रो प्रगति गरेकोमा खुसी व्यक्त गर्नुभयो। कार्यक्रममा रीता खनाल, सञ्जु मास्के, जंग पहाडी लगायतले मन्तव्य राख्नु भएको थियो। प्रदर्शनी भदौ २१ गतेसम्म हुनेछ।