• ६ साउन २०८१, आइतबार

सामुदायिक विद्यालयले पठनपाठन बन्द गर्ने

blog

छिन्चु समाचारदाता

सुर्खेत, भदौ ४ गते । वीरेन्द्रनगर सुर्खेतका सबै सामुदायिक विद्यालयले भदौ ७ गतेदेखि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार वीरेन्द्रनगर–६ को जननमुना माध्यमिक विद्यालयमा छापा मारी उच्च अदालतको परमादेशविपरीत विद्यार्थीबाट शुल्क उठाएको आरोपमा दुई लाख ७६ हजार रुपियाँसहित विद्यालयका कागजात नियन्त्रणमा लिएको थियो। अख्तियारको सो कार्यको विरोध जनाउँदै सुर्खेतका सामुदायिक विद्यालयले भदौ ७ गतेदेखि पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन्। 

बिहीबार सुर्खेतका १६ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले विज्ञप्तिसहित विद्यालयको भावनालाई नबुझेको भन्दै भदौ ७ गतेबाट पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। उच्च अदालत सुर्खेतको आदेशअनुसार नै कक्षा १२ सम्मका विद्यार्थीलाई निःशुल्क अध्ययन अध्यापनको वातावरण तयार गरिएको उनीहरूको भनाइ छ। 

शिक्षा ऐनले तोकेको शिक्षक विद्यार्थी अनुपातभन्दा दोब्बर बढी विद्यार्थीको सङ्ख्या भर्ना गर्न आफूहरू बाध्य भएको बताउँदै ती सबै विद्यार्थीको पढ्न लेख्न पाउने अधिकार सुनिश्चित गर्न स्थानीय स्तरबाट शिक्षक राख्नुपर्ने र शिक्षकका लागि स्वेच्छिक शुल्क उठाउन आफूहरू बाध्य भएको विज्ञप्तिमा उल्लेख छ।

अभिभावकको स्वेच्छिक सहयोगबाट सञ्चालित विद्यालयमा विभिन्न निकायबाट पटक पटक गरिने अवरोध तथा हस्तक्षेपका कारण पठनपाठन तथा विद्यालय संस्थाको मनोबल र आत्मसम्मानमा चोट पुगेको पनि सामुदायिक विद्यालयको बैठकले ठहर गरेको छ। विद्यालयको समस्यालाई सम्बोधन नगरे भदौ ७ गते मङ्गलबारदेखि वीरेन्द्रनगरका सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिने विज्ञप्तिमा उल्लेख छ।