• ६ साउन २०८१, आइतबार

दबाबमा बनाइन्छन् विमानस्थल

blog

मीनराज भण्डारी

काठमाडौँ, भदौ ४ गते । हवाई यातायातबाट राज्यले अधिकतम फाइदा लिने उद्देश्यले देशभर निर्माण भएका ५३ विमानस्थलमध्ये १६ वटा विमानस्थल घाटामा सञ्चालन भइरहेका छन् । विमानस्थल निर्माणका लागि आवश्यकता, औचित्य र दीर्घकालीन रूपमा विमानस्थल सञ्चालनको सुनिश्चितता नहुँदा आन्तरिकतर्फका १६ वटा विमानस्थल बर्सेनि घाटामा सञ्चालन हुँदै आएका हुन् ।

हाल देशभर अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ गरेर ५३ विमानस्थल छन् । तीमध्ये आन्तरिकतर्फका १९ वटा विमानस्थल गौचरनमा परिर्वतन भइसकेका छन् । सञ्चालनमा रहेका विमानस्थलमध्ये विमानस्थलमध्ये १८ वटा विमानस्थल मात्रै नाफामा सञ्चालन हुँदै आएका छन् । सञ्चालनमा रहेका विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य विमानस्थल आन्तरिक उडानमा प्रयोग हुँदै आएका छन् । तराई र उच्च हिमाली क्षेत्रमा रहेका विमानस्थल मात्रै नाफामा रहेका छन् । 

रामेछाप विमानस्थलको घाटा धेरै

रामेछाप विमानस्थल सबैभन्दा बढी घाटामा छ । रामेछाप विमानस्थल गत आर्थिक वर्षमा १९ लाख आठ हजार रुपियाँ घाटामा रहेको छ । त्यसैगरी तीनवटा विमानस्थलले वार्षिक एक लाख रुपियाँसमेत आम्दानी गरेका छैनन् । करोडौँ रकम लगानी गरेर निर्माण भएका विमानस्थलमध्ये वार्षिक एक लाख रुपियाँसमेत आम्दानी नगर्ने विमानस्थलमा बैतडीको पाटन विमानस्थल, खोटाङको थामखर्क र मनमाया राई (खानीडाँडा) विमानस्थल रहेका छन् । यी विमानस्थलमा वार्षिक आम्दानीभन्दा खर्च खर्च धेरै हुँदा घाटामा गएका हुन् ।

निर्माणाधीन विमानस्थल

देशभर विभिन्न ठाउँमा निर्माण भएका विमानस्थल सञ्चालन हुन नसकिरहेका र घाटामा गइरहेका बेला हाल सिन्धुली, अर्घाखाँची, कालीकोट, उदयपुर र तेह्रथुममा पनि आन्तरिक विमानस्थल निर्माण भइरहेका छन् ।

१८ वटा विमानस्थल नाफामा 

प्राधिकरणका अनुसार आन्तरिकतर्फ हिमाली र तराई भेगका र अन्तर्राष्ट्रियतर्फका दुईसहित १८ विमानस्थल भने नाफामा छन् । हिमाली क्षेत्रमा सञ्चालनमा रहेका विमानस्थलमा विदेशी पाहुनाको चहलपहल र कार्गाे उडानको सङ्ख्या र तराई क्षेत्रमा यात्रु धेरै भएकाले रात्रिकालीन उडानसमेत हुने गरेकाले ती विमानस्थल नाफमा देखिएका छन् । नाफामा रहेका विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अग्रस्थानमा छ । गत आर्थिक वर्ष यो विमानस्थलको नाफा पाँच अर्ब ३५ करोड रुपियाँ रहेको छ । गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको नाफा चार करोड २१ लाख रुपियाँ छ । यी दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान हुन्छन् ।

आन्तरिक उडान मात्रै गर्ने विमानस्थलमध्ये सबैभन्दा बढी नाफा कमाउने विमानस्थल पोखरा विमानस्थल हो । यसको नाफा नौ करोड १७ लाख रुपियाँ छ । विराटनगर विमानस्थलको नाफा आठ करोड ७० लाख रुपियाँ छ भने नेपालगञ्ज विमानस्थलको नाफा छ करोड ४७ लाख रुपियाँ छ ।


राजनीतिक दबाबमा बन्छन् विमानस्थल

राजनीतिक लाभका लागि नयाँ विमानस्थल निर्माणको काम सधैँ प्राथमिकतामा पर्ने गरेको छ । नेताले आफ्नो चुनावी क्षेत्रमा विमानस्थल निर्माण गर्न प्राधिकरणलाई दबाब दिने परिपाटीले यस्ता धेरै योजना अलपत्र हुने र निर्माण भएका विमानस्थलसमेत सञ्चालन नआउने गरेका हुन् । नेताहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा प्राधिकरणलाई विमानस्थल निर्माणको दबाब दिने गरेको प्राधिकरण स्रोतले जनाएको छ । यसरी दबाब दिनेमा पूर्वप्रधानमन्त्रीदेखि वहालबाला मन्त्री र प्रभावशाली नेताहरू रहेका छन् ।

राजनीतिक लाभका लागि अध्ययनबिना निर्माण भएका र बर्सेनि घाटामा सञ्चालन हुँदै आएका विमानस्थलमा पनि बर्सेनि नियमित बजेट विनियोजन हुँदै आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक तथा सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो ।

विमानस्थल जस्तो महत्त्वपूर्ण, दीर्घकालीन प्रभाव पार्ने र ठूलो लगानी आवश्यक पर्ने आयोजना निर्माण सम्भाव्यता र लाभ, हानि विश्लेषण नगरी राजनीतिक दबाबमा छनोट गर्दा विमानस्थल सञ्चालनमा समेत अप्ठ्यारो पर्ने गरेको छ । प्राधिकरणका अनुसार हाल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका विमानस्थलको सङ्ख्या १९ छ ।