• १० मंसिर २०८१, सोमबार

गौराको तयारीसँगै बिरुडाको जोहो

blog

गोकर्ण दयाल  

बैतडी, भदौ ४ गते । सुदूरपश्चिमको महत्त्वपूर्ण चार्ड गौरा पर्व नजिकिँदै गर्दा बजारमा बिरुडाको व्यापार फस्टाएको छ। बजारमा डालोमा राखिएको कलौं (सानो केराउ), गुरुँस (एक प्रकारको दाल), गहुँ, मास, गहतलगायत पञ्च अन्न राखिएको बिरुडा खरिद गर्नेको भीड लाग्न थालेको छ।

गौरा पर्वका लागि नभई नहुने बिरुडा पहिला आफ्नै घरमा डालोमा जतन गरी राख्ने प्रचलन थियो। यद्यपि अहिले अधिकांशले बजारबाटै डालो खरिद गरेर गौरा पर्व मनाउने गरेको पाइन्छ। 

गौरा पर्वको बिरुडा (पञ्च अन्न)का लागि गाउँघरमा साल र मालुको पातको डालो (स्थानीय भाषामा खोको) बनाएर राख्ने चलन थियो। बिरुडाका लागि डालोमा कलौं (सानो केराउ), गुरुँस (एक प्रकारको दाल), गहुँ, मास, गहत राख्ने चलन यद्यपि गाउँघरमा छिटफुट देख्न सकिन्छ। 

दशरथचन्द नगरपालिका–४ का अम्बिका भण्डारीले बिरुडाका लागि आवश्यक पर्ने कलौं र गुरुँसलगायत पञ्चअन्न बढीजसो बजारबाटै किन्ने गरेको बताउनुभयो। 

उहाँका अनुसार पहिले त घरमा जतन गरी राखिएको डालोबाटै बिरुडा झिकेर भिजाउने चलन थियो। अहिले बाँदरले खेतीपाती राख्दैन। समय पनि फेरियो। त्यसैले अधिकांश बिरुडा बजारबाटै किन्ने गरिएको भण्डारीले बताउनुभयो।

उहाँका अनुसार यो वर्षको गौरा पर्व भदौ १६ गतेका दिन बिरुडा पञ्चमीबाट सुरु हुन्छ। व्रत बस्ने महिलाले आवश्यक बिरुडाको जोहो बजारबाट गर्न थालिसकेका छन्।

भदौ १ गतेबाट बैतडीसहित सुदूरपश्चिमका सबै जिल्लाका बजारमा बिरुडाको व्यापार बढेको उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताउनुभयो। गत वर्ष डेढ सय रुपियाँमा बिक्री भएको कलौं (सानो केराउ) यो वर्ष २५० रुपियाँ र गुरुँस चार सय रुपियाँ प्रतिकिलो बिक्री भइरहेको स्थानीय व्यापारी शेरसिंह भण्डारीले बताउनुभयो। जिल्लामा बिरुडाको निर्यातभन्दा बढी आयात हुन थालेपछि हरेक वर्ष बिरुडा महँगो हुँदै गएको उहाँले बताउनुभयो। 

बिरुडा पञ्चमीबाट सुरु हुने गौरा पर्वका लागि तामाको भाँडामा बिरुडा भिजाइन्छ। महिलाले निराहार व्रत बसेर गौरा पर्व मनाउने चलन छ। देउताको पूजासँगै घरपरिवारका सदस्यको टाउकोमा बिरुडा राखेर चिरायुको कामना गरिसकेपछि बिरुडालाई क्वाँटीका रूपमा पकाएर खाने चलन रहेको छ। 

संस्कृतविद् चन्द्रमोहन तिवारीका अनुसार बिरुडालाई पूजाका लागि मात्रै प्रयोग नगरेर क्वाँटीका रूपमा पकाएर खाने चलन छ। बजारबाट बिरुडा खरिद गर्ने चलनले बिरुडाको मौलिकता हराउँदै गएको संस्कृतिविद् तिवारीले बताउनुभयो।

उहाँले भन्नुभयो, “मालुको पातको डालो बनाएर घरमा राख्दा बिरुडामा रोग कीरा लाग्दैन थियो। बिरुडा पूजाको सामग्री मात्र नभएर घर परिवारका सदस्यले पोसिलो क्वाँटीका रूपमा खाने भएकाले बिरुडाको शुद्धतामा ख्याल गर्नुपर्छ।”

शिव र पार्वतीको गाथासँग गौरा पर्व जोडिएको छ। सुदूरपश्चिमका महिलाले श्रीमान् र घरपरिवारका सदस्यको चिरायुको कामना गर्दै निराहार व्रत बसेर गौरा पर्व मनाउने चलन रहेको छ। 

गौरा पर्वको पहिलो दिन बिरुडा भिजाइन्छ। पर्वको दोस्रो अर्थात् षष्ठीका दिन बिरुडालाई नजिकैको नदी, पोखरी वा धारामा धुने गरिन्छ। सप्तमीका दिन महिला खेतमा गएर धान, बलु, कुश, दुबो, साउँ, पाती, कुर्जो, तिल गरी नौ प्रकारका बिरुवालाई बिरुडासँगै मिसाएर गौरा (पार्वती)का रूपमा बाँस/निङ्गालोको डालोमा राखेर गौरा घरमा भिœयाउने चलन रहेको छ। 

बिरुडासहितको डालोलाई व्रतालु महिलाले शिरमा राखेर फाग गीत गाउँदै गौरालाई नचाउने चलन छ। बिरुडा पञ्चमीदेखि सप्तमीका दिन गौरालाई गौरा घरमा भिœयाई पूजापाठ हुने गर्छ। अष्ठमीका दिन गौरा सेलाएर (बिसर्जन) गरेर देउडा खेल्ने चलन छ।