• ६ साउन २०८१, आइतबार

पुल बनेपछि सडकसँग जोडिँदै गाउँ

blog

जानु पाण्डे

कपिलवस्तु, भदौ ४ गते । पुल नभएर सास्ती खेप्दै खेपेका कपिलवस्तुका छ स्थानमा पुल निर्माण सम्पन्न भएपछि स्थानीय लाभान्वित भएका छन्। लुम्बिनी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुमार्फत १५० मिटरसम्मका पुल निर्माण भएका छन्। दशकौँदेखि पुल नभएर समस्यामा परेका स्थानमा २३ करोड ३७ लाख ४४ हजार रुपियाँ लगानी गरेर पुल निर्माण गरिएको छ।

सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुका निमित्त प्रमुख इन्जिनियर हितेन्द्र रायमाझीका अनुसार बोडगाउँ मोर्मी जिनुवा सडकको कोइदी नदी पुल, विजयनगर गाउँपालिकाको भटेनी खोला, विशुवा खोला (नेवलागञ्ज) पुल, कपिलवस्तु नगरपालिकाको रामकजिया खोला, जमुवार खोला पुल, ओदारी पटना कोठी नदीअन्तर्गत दोलहा कुला पुल निर्माण सम्पन्न भएको छ। निर्माण भएका पुलले ग्रामीण बस्तीलाई कपिलवस्तु जिल्लाका मुख्य सडक सञ्जालमा जोड्न सहज बनाएको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरले बताउनुभयो। विजयनगर गाउँपालिकाभित्र बनेका २ पुलले यहाँका स्थानीयलाई यात्रा गर्न सहज बनाएको अध्यक्ष थापाको तर्क रहेको थियो। पुल निर्माण भए पछि जोखिम दिएर नदी तर्नुपर्ने बाध्यता अन्त्य भएको छ।

वाणगङ्गा नगरपालिकाको मुर्मीस्थित कोइली नदीमा तीन दशकपछि पुल निर्माण भएको स्थानीय टुकलाल गैरेले बताउनुहुन्छ। पुल नहुँदा स्थानीयले आवतजावत गर्न काठले बनेको जीर्ण पुल प्रयोग गर्दै आएका थिए। सडक पूर्वाधार विकास कार्यालयले अघिल्लो कात्तिक महिनादेखि जिल्ला सदरमुकाम तौलिहवामा कार्यालय स्थापना गरी काम सुरु गर्दै आएको छ।