• १३ साउन २०८१, आइतबार

स्थानीयद्वारा श्रमदानमा अस्थायी पुल निर्माण

blog

खोलामा आवतजावत गर्न स्थानीयहरुद्वारा अस्थायी पुल निर्माण हुँदै । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, भदौ ३ गते । छत्रेश्वरी गाउँपालिका –२ कालाखोलामा श्रमदान गरी स्थानीयले पुल निर्माण गरेका छन् । बर्खाको समय आवतजावतमा समस्या हुने भएपछि स्थानीयले गाउँघरमै पाईने वाँसको प्रयोग गरेर पुल निर्माण गरेका हुन । 

यूट्युवमा पुल बनाएको देखेकाले त्यसको सिको गरेर पुल निर्माण गरेको स्थानीय कृष्णबहादुर बस्नेतले बताउनुभयो । उहाँकाअनुसार अस्थायी रुपमा निर्माण गरिएको पुल तीन वर्षसम्म उपयोग गर्न सकिने छ । स्थानीय स्रोत साधन र श्रमको उपयोग गरी पुल निर्माण गरिएको उहाँले बताउनुभयो ।  

अस्थायी पुलमा मोटरसाइकल समेत चलाउन सकिने बस्नेतको भनाइ छ । वर्षाको समयमा दादर, दहखोला, गोठीखोला र चोरडाँडा, लिरेडाँडाका वासिन्दालाई आवतजावतमा पुल बनेपछि सजिलो भएको उहाँले बताउनुभयो । 

स्थानीय भरत वस्नेतले पुल बनेपछि स्कुले बालवालिकालाई खोला वारपार गर्न सजिलो हुने बताउनुभयो । श्रमदान गर्ने चलन विस्तारै हराउँदै जान थालेको समयमा गाउँमा गरिने रचनात्मक कार्यले सकारात्मक सन्देश दिने  स्थानीय तेजवहादुर योगीले बताउनुभयो ।