• ६ साउन २०८१, आइतबार

कांग्रेस नेता पौडेलद्वारा तनहुँबाट उम्मेद्वार बन्ने घोषणा

blog

सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै वरिष्ठ नेता पौडेल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, भदौ ३ गते ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँबाट नै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । शुक्रबार दमाैलीमा सञ्चारकर्मीसँग कुरा गनुहुँदै नेता पौडेलले तनहुँको क्षेत्र नम्बर १ बाट निर्वाचनमा उम्मेदवार बन्ने बताउनुभएको हो ।

आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र गृह जिल्लाका केन्द्रीय सदस्यहरुसँग यस विषयमा सहमति भइसकेको जानकारी दिनुहुँदै आफू तनहुँ १ बाट उम्मेदवार बन्ने बताउनुभएको हो ।

‘‘मैले लड्ने भए पछि दाबी लाग्दैन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि कुरा भएको छ,’’ नेता पौडेलले भन्नुभयो । समाजवादीलाई अन्य स्थानमा व्यवस्थापन गरिने नेता पौडेलको भनाइ छ ।

वरिष्ठ नेता पौडेल २०७४ सालको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा तत्कालिन नेकपा (एमाले) का उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानसँग पराजित हुनुभएको थियो । श्रेष्ठ हाल नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ ।

‘‘म तनहुँबाटै उम्मेदवार बन्ने हो म जहाँबाट चुनाव हारेको छु त्यहीबाट जितेर मात्रै मर्न चाहन्छु’’ नेता पौडेलले भन्नुभयो ।