काठमाडौं, भदौ २ गते । रोयल र गोल्डेनगेट प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बिहिबार फाइनलमा प्रवेश गरेका छन् । रोयलले आयोजक नखिपोट युथ क्लब ‘ए’ लाई १०५–२७ ले हरायो । रोयलका निकेश मगरले २७ स्कोर गर्नुभयो । रोयल सबै क्वाटरमा हावी बन्यो ।
रोयलले पहिलोमा २७–११, दोस्रो २६–४, तेस्रोमा २४–६ र चौथोमा २८–६ अंकको अग्रता बनायो । गोल्डेनगेटले आईएसए नेपाललाई ६८–५५ ले हरायो । गोल्डेनगेटका अभिषेक सिंहले २३ अंक जोड्नुभयो। पहिलो क्वाटरमा २३–१४ को अग्रता लिएको गोल्डेनगेट दोस्रोमा १६–१७ र तेस्रोमा १२–१४ को सामान्य अन्तरले पछि परेको थियो । गोल्डेनलगेट चौथोमा १७–१० ले अगाडि रह्यो ।
यसैगरी बुद्ध ऐकडेमी र निस्टले पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । बुद्ध छात्र र निस्ट छात्रामा च्याम्पियन बने । अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) को हलमा भएको फाइनलमा बुद्धले निमोनिकलाई ६८–४४ ले हरायो । छात्राको उपाधि भिडन्तमा पुर्णिमा बरालको १० अंक सहयोगमा निस्टले डाफोडिललाई २५–२१ ले हरायो ।
यसैगरी इडेन ब्रिज एकेडेमी (इबीए) र एन्जल्स हार्ट नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर छात्रमा बिहिबार फाइनलमा प्रवेश गरेका छन् । इबीएले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई २४–१८ तथा एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई ३२–२१ ले हरायो ।
सिनियर छात्रमा ब्राइट होराइजनले महामञ्जुश्रीलाई ५७–२४ तथा ग्रिनल्यान्डले किङडम हिमालयलाई ५४–३८ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे । सिनियर छात्रामा संस्कृतिले ग्रिनल्यान्डलाई १७–१२ तथा काष्ठमण्डपले रेडिअन्तलाई २२–१५ ले हराउदै फाइनलमा स्थान बनाएको छ ।
यसैगरी ग्रिनल्यान्ड माविको आयोजनामा १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३ विधामा जम्मा ३९ टिमको सहभागिता रहने आयोजक ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।