• ६ साउन २०८१, आइतबार

सिंहदरबारबाट ग्यास हटाउने अभियान सुरु

blog

काठमाडौँ, भदौ २ गते । मुलुकको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारबाट खाना पकाउने (एलपी) ग्यास हटाउने अभियान सुरु भएको छ । 

चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको सो कार्यक्रमअनुरूप पहिलो चरणमा अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट ग्यास हटाउन थालिएको हो । ऊर्जा मन्त्रालयमा रहेको न्यु कञ्चन चमेना गृह र अर्थ मन्त्रालयमा रहेको सीएमएस हस्पिटालिटी क्यान्टिनले पूर्ण रूपमा ग्यास सिलिन्डर हटाएका छन् । अरू क्यान्टिनमा भने ग्यासको प्रयोग भइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार अर्थ मन्त्रालयको क्यान्टिन निरीक्षण गर्दै ग्यास सिलिन्डर विस्थापित भए नभएको जानकारी लिनुभएको थियो । अर्थमा शतप्रतिशत विद्युतीय चुलो जडान गरी सिलिन्डर विस्थापित भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्री शर्माले अर्थ मन्त्रालय मातहतका सिंहदरबारबाहिरका क्यान्टिनमा समेत सिलिन्डर हटाउन निर्देशन दिनुुभएको छ । 

अर्थ मन्त्रालयका प्रवक्ता फणीन्द्र निरौलाले अर्थ मन्त्रालयका सचिवालय, महाशाखा र चमेना गृहमा ग्यास हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याएको बताउनुभयो । 

सरकारले चालू आर्थिक वर्षको बजेटमा साउन महिनाभित्र सिंहदरबारबाट ग्यास सिलिन्डर विस्थापित गर्ने घोषणा गरेको थियो । सरकारले ग्यासको खपत घटाउन विद्युतीय चुलो प्रयोगमा जोड दिएको छ । 

ऊर्जा मन्त्रालय परिसरमा रहेको न्यु कञ्चन चमेना गृहका सञ्चालन छत्र पनेरूले चार दिनदेखि बिजुली हिटरमा पकाउन थालिएको जानकारी दिनुभयो । अर्थ मन्त्रालयमा रहेको सीएमएस हस्पिटालिटी क्यान्टिनका सञ्चालक मानबहादुुर भट्टले मङ्गलबारदेखि ग्यासको प्रयोग हटाइएको जानकारी दिनुभयो । 

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको कञ्चन चमेना गृहका सञ्चालक स्वस्तिक सापकोटाले ग्यास हटाउने सूचना आइसकेको जानकारी दिँदै विद्युतीय चुलो प्रयोग गर्न सामान नआएकाले ग्यास नै प्रयोग गरिरहेको बताउनुभयो । एक/दुई दिनपछिबाट ग्यास हटाएर इन्डक्सन र हिटर प्रयोग गरिने उहाँले जानकारी दिनुभयो ।