• ६ पुस २०८१, शनिबार

बान्तवाको चित्रमा ‘घोडा र महिला’को विम्ब

blog

शिवा तामाङ

काठमाडौँ, भदौ १ गते । चित्रमा ‘घोडा र महिला’ विम्बको प्रयोग गरी शक्ति र प्रकृतिको बलियो संयोजन दर्शाउन सिपालु कलाकार सञ्जय बान्तावा आफूलाई सङ्घर्षमा विश्वास गर्ने व्यक्तिका रूपमा चिनाउनुहुन्छ। करिब तीन वर्षकै उमेरमा पोलियो रोगका कारण दुवै खुट्टाले काम नगरे पनि अध्ययनलाई निरन्तरता दिँदै कला क्षेत्रमा उहाँ प्रतिभाशाली व्यक्तित्वको पहिचानसहित उभिनुभएको छ। 

धेरै समय ह्विलचियरमै बिताउने कलाकार बान्तवाले चित्रमा प्रयोग गरिने उक्त विम्बमार्फत दौडिने, निरन्तर सङ्घर्षमै रमाउने आफ्नो कल्पनालाई सजीव रूप दिँदै आउनुभएको छ। त्यसो त उहाँ अन्य विम्ब र चित्रमा सशक्त जोसिलो भाव प्रकट गर्ने कलाकारका रूपमा पनि चिनिनुहुन्छ। 

उदयपुर, चौदण्डीगढी नगरपालिका–४ मा जन्मनुभएका कलाकार बान्तवाका पिता शिक्षक हुनुहुन्थ्यो। परिवारको कान्छो छोरा सञ्जय पोलियोका कारण हिँड्न नसक्ने अवस्थामा पुगेपछि पिताले नै बोकेर स्कुल लाने, ल्याउने गर्दै पछि साइकलमा समेत स्कुल लाने व्यवस्था मिलाउनुभयो। शारीरिक अवस्थाले बलको काम गर्न नसके पनि पढेर बौद्धिक काम गरी खान सक्ने परिवारको विश्वासले उहाँले निरन्तर पढ्न पाउनुभयो। 

अन्य साथीसरह खेल्ने, कुद्ने गर्न नसक्ने भएपछि उहाँको मन चित्र बनाउनतिर मोडियो। चित्र हेर्न साथीहरू झुम्मिने र चकचके साथीले अरूलाई देखाउने बहानामा उहाँका चित्रहरू धेरै पटक च्यातेर पनि दुःख दिएको उहाँ सम्झिनुहुन्छ। स्कुल पढ्दा सोखका रूपमा थालेको कलाकारिता नै उहाँको पहिचान पनि बन्यो। 

ललितकला क्याम्पसमै पढाउनुहुने कलाकार बान्तावाले भौतिक तथा सामाजिक दृष्टिको अनेकौँ बाधा, व्यवधानलाई छिचोल्दै गरेको सङ्घर्षपछिको सफलताको अनुभव विशेष हुने बताउनुहुन्छ। उहाँ आफूले बनाएको चित्रको माध्यमलाई अर्ध–मूर्त माध्यम भन्न मन पराउनुहुन्छ भने देश–विदेशका थुप्रै मञ्चमा विविध सन्देशमूलक चित्रकलाको प्रदर्शनीबाट पुरस्कार, सम्मान, प्रशंसा र माया पाउनुभएको छ। 

अपाङ्गता भएका व्यक्तिको विविध अधिकारका लागि काम गर्ने संस्थाहरूले राज्यलाई नीतिगत व्यवस्थाका लागि घचघच्याउँदै आत्मनिर्भर तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक रूपमा सशक्त बनाउने अभियान पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ।