• २१ वैशाख २०८१, शुक्रबार

हारबाट जोगियो लिभरपुल

blog

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै लिभरपुल र क्रिस्टल प्यालेसका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, साउन ३१ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार लिभरपुल हारबाट जोगिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरीमा रोकियो । १० खेलाडीमा समेटिएको लिभरपुलले दोस्रो हाफमा बराबरी गोल गर्दै हार जोगाएको हो ।

प्रतिस्पर्धात्मक खेलमा क्रिस्टल प्यालेसले ३२औं मिनेटमा विलफ्रिड जाहाको गोलमा सुरुवाती अग्रता लिएको थियो । ६१औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाउनुभएको हो ।

यसअघि ५७औं मिनेटमा डार्विन न्युनेजले रातो कार्ड पाउँदै बाहिरिएपछि लिभरपुल दबाबमा परेको थियो । विपक्षी खेलाडीलाई फल हानेपछि उहाँलाई रेफ्रीले सोझै रातो कार्ड देखाउनुभएको थियो । तर क्रिस्टलले त्यसको फाइदा उठाउन सकेन । लिगमा लिभरपुलको यो लगातार दोस्रो बराबरी हो ।

सिजनको पहिलो खेलमा पनि लिभरपुल फुलहामसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । दुई खेलबाट दुई नै अङ्क बनाएको लिभरपुल १२औं स्थानमा छ । एक अङ्क बनाएको क्रिस्टल प्यालेस १६औं स्थानमा छ । एजेन्सी