• ६ साउन २०८१, आइतबार

‘नेपाल–भारत सम्बन्ध ऐतिहासिक’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ३१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी मुलुक भारतको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ। भारतको ७६औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका आफ्ना समकक्षी नरेन्द्र मोदीलाई सोमबार शुभकामना सन्देश पठाउँदै उहाँ र भारतका जनतालाई स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिनुभएको हो। उहाँले सन्देशमा भन्नुभएको छ, “भारतको निरन्तर प्रगति र समृद्धिका लागि मेरो शुभकामना छ।’’ उहाँले छिमेकी मुलुकबीचको ऐतिहासिक सम्बन्ध, सहयोग र मित्रताको भावना आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ।

तत्कालीन ब्रिटिस साम्राज्यको उपनिवेशबाट स्वतन्त्र भएको दिनको स्मरण गर्दै भारतमा हरेक वर्ष १५ अगस्टका दिन स्वतन्त्रता दिवस मनाइने गरिन्छ। यसैबीच परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतको ७६औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतका समकक्षी डा. सुब्रमन्यम जयशङ्करलाई शुभकामना सन्देश पठाउँदै स्वतन्त्रता दिवसको बधाई दिनुभएको छ। 

यसैबीच नेपालस्थित भारतीय राजदूतावासले विशेष समारोह आयोजना गरी स्वतन्त्रता दिवस मनाएको छ। यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक कोसेढुङ्गाको सम्झनामा भारत सरकारले मार्च २०२१ मा सुरु गरेको ‘आजादीका अमृत महोत्सव’को एक हिस्सा रहेको वक्तव्यमा उल्लेख गरेको छ। सो अवसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मूको शुभकामना सन्देश पढेर सुनाइएको थियो।